काठमाडौं । इन्द्रावती नदीले काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० हल्देटारस्थित सयभन्दा बढी रोपनी खेत कटान गरेको छ । मनसुनी वर्षाका कारण उक्त नदीमा आएको बाढीले सुकुटेबगरमा धान रोपिएको खेत कटान गरेको हो ।
स्थानीय २५ किसानको करिब एक सय रोपनीभन्दा बढी धानखेत नदीले कटान गरी क्षति पुर्याएको नगर सहकारी समन्वय समितिका अध्यक्ष सुमन नेपालले जानकारी दिए ।
उनका अनुसार केही किसानको भएको सबै खेतसमेत नदीले बगाएको हो । उक्त क्षेत्रमा नदीले खेत कटान समस्या केही वर्षदेखिकै रहेको नेपालले बताए ।
उक्त क्षेत्रमा गतसाल पनि आफ्नो खेत कटान गरेको स्थानीय शिक्षक प्रेमबहादुर लामाले बताए । अहिले उनको नारिमखर्कको चार रोपनी धान खेत नदीले कटान गरेको छ । माझीगाउँको पुल नजिक पनि नदीले खेत कटान गरेको लामाले जानकारी दिए ।
गत वर्षदेखि नै नदीले खेत कटान गरेपछि नगरमा खेतीयोग्य जनिम संरक्षणका लागि गत वर्षदेखि किसानले ध्यानाकर्षण गराए पनि कुनै चासो नदिएको लामाले बताए ।
‘हामी पीडितले खेत जोगाउनुपर्यो भनेर गत सालदेखि नै जनप्रतिनिधिलाई पटक–पटक भन्यौँ, तर वास्ता गरिएन,’ उनले भने ।
नगरउपप्रमुख विष्णुमणि नेपालले नदीले कटान गरेको क्षेत्र संरक्षणका लागि नगरको बजेटले नपुग्ने भएकाले प्रदेश तथा सङ्घीय सरकारसँग माग गर्नुपर्ने बताए ।
उनले इन्द्रावती नदीले वर्षैपिच्छे खेतीयोग्य जमिनसँगै अन्य जमिन कटान गर्दा माझी बस्तीसमेत जोखिममा परेको बताए । उनले भने, ‘मण्डनमा नदीले कटान गरिरहेको ठूलो समस्या बनेको छ, योजना बनाएरै लाग्दैछौँ ।’