जाजरकोट– नलगाड नगरपालिकाका भुकम्प गएको डेढ महिना नाघिसक्दा पनि आधाभन्दा बढीले राहत नपाउँदा पीडितहरू थप मारामा परेका छन् । प्रभावितले डेढ महिना बित्दा पनि अस्थायी आवास निर्माणका लागि राहत रकम नपाएका हुन् । नगरपालिकाले भुकम्पबाट पूर्ण तथा आंशिक रुपमा क्षति व्यहोरेका भुकम्प पीडितको पहिचान गरेको छ तर राहत रकम भने वितरण भएको छैन ।
नगरपालिकाले अस्थायी आवासको लागि पालिकाभर आठ हजार ९७ परिवार रहेको जनाएको छ । सो मध्ये ३ हजार ७२१ परिवारसँग भने राहत रकम वितरणको लागि सम्झौता भने गरिएको बुधबार एक सूचना जारी गर्दै नगरपालिकाले जनाएको छ ।
यस्तो छ वडागत रुपमा लाभग्राहीको अवस्था
नलगाड नगरपालिकामा वडा नम्बर १ मा अस्थायी आवास निर्माण आवश्यक रहेका ९८४ लाभग्राही छन् । जसमध्ये ५०० लाभग्राहीसँग नगरपालिकाले राहत उपलबध गराउन सम्झौता गरेको छ । वडा नम्बर २ मा ४७७ लाभग्राहीमध्ये ३२० सँग सम्झौता गरिसकेको नगरपालिकाले जनाएको छ । वडा नम्बर ३ मा ६७४ लाभग्राहीमध्ये ४०९ सँग सम्झौता भएको, वडा नम्बर ४ मा ४५१ लाभग्राहीमध्ये ३५० सँग सम्झौता भएका, वडा नम्बर ५ मा ९५१ मध्ये ३०० लाभग्राहीसँग सम्झौता भएको, वडा नम्बर ६ मा ६६९ मध्ये ३६७ लाभग्राहीसँग सम्झौता भएको छ ।
यस्तै, वडा नम्बर ७ मा ६३८ मध्ये ४०० परिवारसँग, वडा नम्बर ८ का ९१३ लाभग्राहीमध्ये ३०० सँग, वडा नम्बर ९ का ५५६ लाभग्राहीमध्ये ४०० सँग, , वडा नम्बर ११ मा ३७४ मध्ये २४४ लाभग्राहीसँग सम्झौता भएको, वडा नम्बर १२ मा ५५१ घरधुरी मध्ये ३७५ सँग र वडा नम्बर १३ मा ४८१ लाभग्राहीमध्ये ३५० लाभग्राही सँग राहत रकम वितरणका लागि सम्झौता भएको छ । यस्तै वडा नम्बर १० मा ३७८ लाभग्राही रहेको तथा राहत रकम वितरणका लागि सम्झौता गर्न बाँकी रहेको सूचनामा उल्लेख छ ।