डेनमार्कको राजधानी कोपनहेगनमा रहेको सबैभन्दा ठूलो सपिङ मलहरू मध्ये एकमा एक जना बन्दुकधारीले तीन जनाको हत्या गरेका छन् ।
घटनामा कैयन घाइते भएको र उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
स्थानीय समयअनुसार आइतबार राति बन्दुकधारीले अन्धधुन्ध गोली चलाएका थिए ।
गोली लागेर मृत्यु हुनेमा एक जना ४० वर्षीय पुरुष र दुई जना युवा रहेको कोपनहेगन प्रहरीले जनाएको छ ।
उक्त सपिङ मलमा विभिन्न क्षेत्रमा एकै साथ आक्रमण भएको थियो । सामाजिक सञ्जालमा उक्त क्षेत्रबाट थुप्रै मानिसहरु भागाभाग गरेको फोटो-भिडियो सार्वजनकि भएको छ ।
घटनाको छानबिनका क्रममा एक डेनिस पुरुष पक्राउ परेको बताइएको छ । २२ वर्षीय ती युवाबाट राइफल बरामद गरिएको कोपनहेगन प्रहरी प्रमुख सोरेन थमेसनले बताए ।
प्रहरी प्रमुख थमेसनले आक्रमणको कारण स्पष्ट नभएको र उनले उक्त कार्यलाई 'आतङ्कवाद सम्बन्धी कार्य' होइन भन्न नसकिने बताए ।
प्रधानमन्त्री मेट फ्रेड्रिकसेनले डेनमार्कले क्रूर आक्रमण भोगेको बताइन् । मृतकका आफन्तलाई समवेदना सन्देशसहित उनले सम्पूर्ण डेनिशहरूलाई यस कठिन घडीमा एकअर्कालाई साथ र सहयोग प्रदान गर्न प्रोत्साहित गर्न चाहेको बताइन् ।