बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको पद तत्कालका लागि जोगिएको छ ।
पार्टीगेट काण्डका कारण समस्यामा परेका बेलायतका प्रधानमन्त्री आफ्नै पार्टीको संसदीय दलमा अविश्वासको प्रस्तावको सामना गरेका जोनसनले विश्वासको मत पाएपछि उनको पद जोगिएको हो ।
गएराति भएको कन्जरभेटिभ पार्टीको संसदीय दलमा भएको विश्वासको मतदानमा कन्जरभेटिभका कुल ३५९ सांसद मध्ये जोनसनको पक्षमा २११ मत परेको थियो भने उनको विपक्षमा १४८ मत परेको थियो ।
यो जितपछि जोनसन अब कम्तिमा एक वर्ष प्रधानमन्त्री पदमा कामय रहनेछन् ।
पार्टी र सरकारमा बढ्दो विरोधका कारण जोनसनको पद जाने आशंकाका बीच २११ सांसदले उनीमाथि विश्वास देखाएको बीबीसीले जनाएको छ । यसबाट कन्जरभेटिभ पार्टीका ४० प्रतिशत सदस्य उनका विरोधी बनेका छन् ।
कोरोनाको नियम उल्लङ्घन गरेको पार्टीगेट काण्ड प्रकरणमा पार्टीका ४० भन्दा बढी सांसदले उनको राजीनामाको माग गरिरहेका थिए ।
सन् २०२० जुन २० मा बेलायती प्रधानमन्त्रीको कार्यालय उनिङ स्ट्रिटमा कोरोना महामारीको प्रारम्भिक दिनमा जोनसनले जन्मदिनको पार्टी मनाएका थिए । कोरोना नियम उल्लङ्घन गरी मन्त्रिपरिषद् कक्षमा पार्टीको आयोजना गरिएको थियो ।
यसका लागि प्रधानमन्त्री जोन्सन र उनकी श्रीमती क्यारीलाई जिम्मेवार मानिएको थियो । बेलायती नेताहरूले यसलाई ‘पार्टीगेट स्क्यान्डल’ भनेका छन् ।