भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा तिर्थयात्री सवार बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ ।
बसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार थिए ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनामा २६ जनाको मृत्यु भएको पुष्टी गरेका छन् ।
यूके-०४-१५४१ नम्बरको बस आइतबार साँझ सडकबाट ४०० फिट गहिरो खाडलमा खसेको थियो ।
दुर्घटना लगत्तै मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान आइतबार रातिनै देहरादून पुगेका थिए । उनले घटनाका बारेमा जानकारी लिनुका साथै उद्धार कार्यबारे छलफल गरे ।
उत्तराखण्डको दुर्घटनापछि एम्बुलेन्ससँगै मेडिकल टोली पनि घटनास्थलमा पुगेको थियो । घाइतेहरुलाई थप उपचारका लागि देहरादून पठाइएको छ ।
उत्तराखण्डमा भएको दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग गर्ने बताएका छन् ।
यस्तै उत्तराखण्डका मुख्यमन्त्री पुस्कर सिंह धामीले पनि मृतकका परिवारलाई १ लाख र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग गर्ने बताएका छन् ।