काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाको वडा नम्बर ८ स्थित लायकु मञ्चमा वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला हुने भएको छ । बनेपा र पनौती नगरपालिकाको संयुक्त आयोजनामा जेठ २६ र २७ गते मेला हुन लागेको हो ।
रोजगारीको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै ठाउँमा ल्याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । रोजागरीको खोजीमा रहेका युवालाई दिशानिर्देश गर्न मेला सहयोगी हुने पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले बताए ।
'स्वरोजगार बनाउने उद्देश्यले तालिमका लागि सार्वजनिक सूचना गर्दा पनि कोटा अनुसार आवेदन नपर्ने अवस्था छ । यस्तो अवस्थामा मेला युवाको चाहना बुझ्ने अवसर पनि हुनेमा विश्वास लिएका छौँ', उनले भने ।
बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यले मेलाले धेरै युवालाई रोजगारको मार्गमा डोर्याउन सहजीकरण गर्ने दाबी गरे । मेलामा धेरैभन्दा धेरै सहभागिताका लागि उनले आग्रह समेत गरे ।
मेलामार्फत रोजगारदाता र रोजगारीको खोजीमा रहेका जनशक्तिबीच सम्बन्ध बिस्तार हुने अपेक्षा लिइएको छ । मेलामा सरोकारवाला र उद्योगीलाई स्टल बुकिङ गर्नका लागि पनौती र बनेपा नगरपालिका अन्तर्गतका शिक्षा, युवा तथा खेलकुद शाखामा सम्पर्क गर्नका लागि आह्वान गरिएको छ ।