बागलुङ– काठेखोला गाउँपालिकाले बेरोजगार सूचीमा कुनैपनी युवा नछुटुन् भनेर पालिकाका विकट टोल टोलमा पुगेर निवेदन सङ्कलन गरेको छ ।
गाउँपालिकाले फागुन २२ र २३ गते वडा नं ४ का विभिन्न स्थानमा पुगेर बेरोजगार सूचीका लागि युवाका निवेदन सङ्कलन गरेको हो । गाउँपालिकाले ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ कार्यक्रम सञ्चालन गरेर वडा कार्यालयबाट टाढा रहेका बस्तीहरुको बेरोजगार सूची सङ्कलन गरिरहेको रोजगार शाखाका प्रमुख जनक पौडेलले बताए ।
गाउँपालिकामा वडा कार्यालयमार्फत फागुन महिनाभित्र बेरोजगारमा सुचिकृत हुन निवेदन सङ्कलन भइरहेका छन् । वडा कार्यालयबाट टाढा रहेका बस्तीमा रोजगार शाखा आफै पुगेर निवेदन सङ्कलन गरेको उनले बताए ।
उनका अनुसार वडा नं ४ मा आर्थिक वर्ष २०८१/०८२ का लागि १८ देखि ५९ वर्ष उमेर समुहका ६१ जनाले निवेदन दिएका छन् । साथै उनीहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम, वैदेशिक रोजगारी र सामाजिक सुरक्षा कोषको बारेमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको उनले बताए । रोजगार शाखाले अन्य वडाका विकट क्षेत्रमा पुगेर निवेदन सङ्कलन गर्ने योजना बनाएको उनले बताए ।
चालु आर्थिक वर्ष २०८०/८१ का लागि बेरोजगार सूचीमा ७८२ जना सुचीकृत भएका थिए । सोमध्ये ७० जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी प्रदान गर्नका लागि बजेट प्राप्त भएको उनले बताए । आगामी आर्थिक वर्षमा बेरोजगार सूचीमा थप नागरिकलाई सूचिकृत गराउन रोजगार शाखा बस्ती बस्तीमा पुगेको उनको भनाइ छ ।