उदयपुर– उदयपुरको त्रियुगा नगरपालिकाभित्र बस्ने मुसहर समुदायले जीविकोपार्जनका लागि व्यावसायिक सीप उपलब्ध गराइदिन माग गरेका छन् । उनीहरूले पेसा परिवर्तन गरी शिक्षा, स्वास्थ्यलगायत जीविकोपार्जन सहज बनाउने उद्देश्यले नगरपालिकाले आयोजना गरेको अन्तरक्रियामा यस्तो माग राखेका हुन् ।
मुसहर समुदायका अगुवाले नगरप्रमुख बलदेव चौधरीसँग अगरबत्ती बनाउने, सिलाइ–कटाइ, दालमोठ, भुजिया बनाउने, तरकारी तथा पशुपालनसम्बन्धी तालिमको माग राखेको नगरप्रमुखका स्वकीय सचिव बिजली सदाले बताए । मुसहर समुदायले आयआर्जनमूलक सीपका साथै शिक्षा, स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम माग गरेका छन् ।
मुसहर समुदायका अगुवा मिश्रीलाल सदाका अनुसार ज्याला, मजदुरी र बनिबुतोको भरमा जीविकोपार्जन गरिए पनि अब त्यसरी परिवार पाल्न सकिँदैन । राजनीतिक, सामाजिक, आर्थिक सबै हिसाबले यो समुदाय पछि परेको छ । जमिनको स्वामित्वबाट वञ्चित, उद्यमदेखि टाढा रहेको यो समुदाय शिक्षा, स्वास्थ्यको पहुँचबाट पनि वञ्चित छ । ‘समुदायलाई बिहान–बेलुका के खाने, के लगाउने भएपछि विद्यालय जाने बालबालिकाले पनि बीचैमा पढाइ छाड्ने गरेका छन्’, उनले भने ।
मुसहर समुदायलाई आयआर्जनमूलक सीप प्रदान गरेर जीविकोपार्जन सहज बनाउने कार्यक्रम ल्याइने नगरप्रमुख चौधरीले प्रतिबद्धता जनाए । यो समुदायको समग्र विकास र जीवन पद्धति परिवर्तनका लागि प्रदेश सरकारसँग विशेष कार्यक्रम प्रस्ताव गरिएको उनले बताए । २ करोड रुपैयाँ बराबरको मुसहर समुदाय लक्षित कार्यक्रम स्वीकृत भए यो समुदायको सबै बस्तीमा आधुनिक घर निर्माण र आयआर्जन, शिक्षा, स्वास्थ्यको व्यवस्था गरिने नगरप्रमुख चौधरीको भनाइ छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले यो समुदायलाई उद्यमशिलता सीप र प्रविधि निःशुल्क सहयोग गर्न आवश्यक रहेकामा जोड दिए । उनीहरूको परम्परागत सीपलाई परिवर्तन गरेर आयआर्जनमूलक सीपबाट जीविकोपार्जन सहज बनाउन सकिने उनको धारणा छ ।
जिल्लाको एक मात्र मुसहर समुदायका प्रतिनिधि वडा नम्बर १२ का वडा सदस्य किसनवती सदाले नगरपालिकाले सदा समुदायको हितमा कार्यक्रम अगाडि बढाएकामा खुसी व्यक्त गरिन् । नगरपालिकाको १६ वडामध्ये १०, १४, १५ र १६ बाहेक सबै वडामा मुसहर समुदायको बसोबास छ । नगरमा ५५८ घरधुरी र जनसंख्या २ हजार ५०९ छ ।