close

फोहोरलाई मोहोर बनाउने अभियानमा नमोबुद्धका महिला

फोहोरलाई मोहोर बनाउने अभियानमा नमोबुद्धका महिला

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेको नमोबुद्ध नगरपालिकाले नगरभित्र संकलित हुने फोहोरलाई मोहोर बनाउने अभियान सुरु गरेको छ । घर तथा टोलमा फालिएका प्लास्टिकबाट दैनिक उपयोग हुने तथा सजावटका सामग्री बनाउन नगरपालिकाले तालिम सञ्चालन गरेको हो ।  हरेक पल जोशजाँगर, सिर्जनशील र स्वरोजगार नारासहित नगरपालिकाले विभिन्न वडाका १८ जना महिलालाई सीप विकास तालिम दिइरहेको छ । 


तालिम ५ देखि ९ मंसिरसम्म सञ्चालन हुनेछ । नमोबुद्धको महिला बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारका अनुसार विपन्न महिलालाई स्वरोजगार बनाउने तथा वातावरणमैत्री नगरको अभियानलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यसहित तालिम सुरु गरिएको हो ।

 

खेर जाने र जथाभावी फालिएका प्लास्टिक सदुपयोग गर्दै दैनिक उपयोगका सामग्री बनाउँदा यसले महिलाको आयआर्जन पनि बढ्ने र आवश्यक सामग्री खरिदका लागि हुने खर्चसमेत जोगिने सुनुवारको भनाइ छ । 


तालिममा सहभागी महिलाले चाउचाउ, बिस्कुट, खैनीलगायत विभिन्न सामग्रीका प्लास्टिकका खोलबाट चकटी, गुन्द्री, ढकी, कलशलगायत सामग्री बनाउन सिकिरहेका छन् । यी सामग्री दैनिक घरमै उपयोग गर्न सकिन्छ भने बजारमा बिक्रीसमेत गर्न सकिनेछ । 


तालिमको सहजीकरण सावित्रा पौडेल र डोल्मा लामाले गरिरहेका छन् । तालिममा सहभागी महिलाले सीप सिकेसँगै तिनले उत्पादन गरेका सामग्रीको थप बजारीकरणका लागि पहल गरिने सुनुवारले जानकारी दिइन् ।


नमोबुद्धले यसअघि पनि महिलाको सीप विकासका लागि अचार बनाउनेलगायत विभिन्न किसिमका तालिम आयोजना गरिसकेको छ । नगरपालिकाले स्थानीय स्तरमा उत्पादित सामग्रीको बजारीकरणका लागि कोसेली घर स्थापनाको योजना अघि बढाइसकेको नगरप्रमुख टी.पी. शर्मा तिमल्सिनाले जानकारी दिए । नगरपालिकाले यसअघि नगरभित्र उत्पादित कृषि तथा फलफूलजन्य उत्पादनको बजारीकरणका लागि कृषि उपज संकलन केन्द्रसमेत सञ्चालन गरिसकेको छ ।