भक्तपुर– सामान्य लेखपढ गरेकी भक्तपुरकी सुनिता पुनारले जीविकोपार्जनका लागि गाउँमै ज्याला मजदुरी गर्दै आएकी थिइन् । कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण उनको आम्दानीको आधार खोसियो । उनी भन्छिन्, ‘कोरोनामा काम पाइएन । पैसा आउने बाटो बन्द भयो ।’ उनीसँगै अनिता पौवाको अवस्था पनि उस्तै छ । ज्याला मजदुरीबाटै परिवार पाल्दै आएकी उनी कोरोनासँगै आम्दानीको स्रोत पनि खोसियो । उनी भन्छिन्, ‘कोरोना भाइरसबाट गाउँमै जसोतसो काम गर्दै आएँ । तर, यस्तो महँगीलाई धान्नै गाह्रो ।’
चाँगुनारायण नगरपालिकाले अल्पकालीन रोजगारी व्यवस्था गरेसँगै उनीहरू दंग छन् । उनीहरू भन्छन्, ‘अब केही दिनका लागि रोजगारी पाएका छौँ । दैनिक १ हजार रुपैयाँ पारिश्रमिक पाउन थालियो ।’ पालिकाले कोरोना भाइरसबाट रोजगारी गुमाएका स्थानीयलाई अल्पकालीन रोजगारी सुरु गरेको हो । ट्रेकिङ एजेन्सीस् एसोसिएसन अफ नेपालसँग सहर्कायमा पालिकाले उक्त कार्यक्रम सुरु गरेको हो ।
पालिकाले वडा नम्बर ६ स्थित मुहानपोखरीबाट कार्यक्रम उद्घाटन गरेको छ । कार्यक्रमबाट करिब ३ सय स्थानीयले ४० दिनका लागि रोजगारी पाएको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए । उनले भने, ‘रकम थोरै होला तर हाम्रो उद्देश्य रोजगारी गुमाएका परिवारलाई दसैँ खर्च दिनु हो । यो काम गरेबापत पाइनेछ ।’ चाँगुनायण र जीविकोपार्जन पनरुत्थानका लागि दिगो पर्यटन परियोजना एसटिएलआरपी, नेपाल पर्यटन बोर्ड र युएनडिपीको संयुक्त साझेदारीमा अल्पकालीन रोजगारी दिइएको हो ।
मुहान पोखरी–खोलेखेत गडगडे हुँदै नगरकोटस्थित प्राकृतिक पर्यटकीय पदमार्ग निर्माणमा स्थानीयलाई रोजगारी दिइनेछ । नगरकोट क्षेत्रको पर्यटन प्रवद्र्धन र स्थानीयलाई रोजगारी दिने उद्देश्यले सो कार्यक्रम ल्याइएको नगरप्रमुख मिश्रले जानकारी दिए । ६० लाखमध्ये पालिकाले ३० लाख र ३० लाख रुपैयाँ साझेदार संस्थाले बेहोर्नेछन् । कार्यक्रमका सुपरभाइजर राजकुमार लामिछानेले छनोटमा परेका स्थानीयले दैनिक ७ घन्टा काम गर्नुपर्ने उनले बताए ।
कोरोना महामारीबाट रोजगारी गुमाएका परिवारका सदस्य, महिला, पिछडिएका वर्ग, जनजाति र दलितलाई रोजगार प्रदान गरिनेछ । कार्यक्रममार्फत ५ किलोमिटर सडक निर्माण हुनेछ ।