ओखलढुंगा– खिजीदेम्बा गाउँपालिकाले युवाहरूलाई गाउँमै स्वरोजगार बनाउन अभियान थालेको छ । अभियानअन्तर्गत सबै वडामा युवा लक्षित सीप विकास तालिम सुरु गरिएको हो ।
गाउँपालिकाले ८ वटा छोटो अवधि, एउटा स्तरवृद्धि र २ वटा मध्यम अबवधिका गरी ११ वटा युवा लक्षित घरेलु तथा सीप विकास तालिम सुरु गरेको छ ।
गाउँपालिकाका ९ वटै वडामा वडाको छनोटअनुसार छोटो अवधिको ७ दिने तालिम र गाउँपालिका स्तरमा ४५ दिने २ वटा तलिम सञ्चालन गरिएको खिजिदेम्बा गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले जानकारी दिए ।
गाउँपालिकाले पालिका स्तरमा ४५ दिने बाँस तथा निगालोसँग सम्बन्धित तालिममा प्रत्येक वडाबाट २ जनाका दरले सहभागी गराएको छ । यस्तै, पालिका स्तरमै प्लास्टिक, पराल, खोस्टा आदि स्थानीय स्तरमा प्राप्त हुने कच्चा पदार्थको प्रयोगबाट तयार गरिने ढक्की, चकटी तथा अन्य समाग्री निर्माणसम्बन्धी तालिमको तयारी पनि थालिएको छ ।
गाउँपालिकाका ९ वटै वडाबाट २ जनाका दरले १८ जना महिलालाई सहभागी गराएर तालिम सुरु गर्ने तयारी छ । गाउँपालिकाले वडाको छनोट एवं मागका आधारमा जनाका दरले वडामै तालिम दिने तयारी छ ।
गाउँपालिकाले वडा नम्बर १ मा कफी खेती, वडा नम्बर २ मा चिया खेती, वडा नम्बर ३ मा च्याउ उत्पादन, ५, ६ र ७ नम्बर वडामा बाख्रापालन, वडा नम्बर ८ मा च्याउ उत्पादन र वडा नम्बर ९ मा स्तरवृद्धि तालिम सञ्चालन गर्ने तयारी गरिएको छ ।
वडा नम्बर ४ मा खुर्सानी खेती तालिम सुरु गरिएको छ । गाउँपालिकाले सीप विकासतर्फ १ सय ६४ जनालाई र पुराना उद्यमीको स्तरोन्नतितर्फ ५० जनालाई गरी २ सय १४ जनालाई तालिम दिने लक्ष्य लिएको खिजीदेम्बा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले बताए ।