कपिलवस्तु- रोजगारविहीन अपांगता भएका युवालाई स्वरोजगारीको अवसरका लागि कपिलवस्तु र रूपन्देहीका स्थानीय सरकार र उद्योग वाणिज्य संघसँग सहकार्य हुने भएको छ ।
रोजगारविहीन अपांगता भएकाका लागि ऊर्जाशील अवसर परियोजना (फाउन्ड) ले कपिलवस्तुका १० र रूपन्देहीका १६ पालिकामा ६ सय बढीलाई रोजगारी अवसर जुटाउन लागेको हो ।
कपिलवस्तुको गोरुसिंगेमा आयोजित कार्यक्रममा परियोजनाका कलस्टर म्यानेजर रामदयाल ठाकुरले ४ वर्षभित्र २ जिल्लाका सबै पालिकामा रोजगारविहीन अपांगता भएकालाई स्वरोजगार वा रोजगारी दिइने बताए ।
बुद्धभूमि नगरपालिका प्रमुख केशवकुमार श्रेष्ठले नगरभित्र रहेका अपांगता भएकालाई स्वरोजगार बनाउन परियोजनासँग सहकार्य गरिएको जानकारी दिए । नगरपालिकाले उनीहरूलाई सीप सिकाउन तालिम दिइसकेकाले उद्यमी बनाउन परियोजनाको सहयोग रहने उनको भनाइ छ ।
परियोजनाले राष्ट्रिय अपांग महासंघ नेपाल र उद्योग वाणिज्य संघसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै वर्षदेखि सञ्चालनमा आएको परियोजनाले २ सय ४८ जनाको प्रोफाइल तयार गरी ३३ लाई स्वरोजगार र १७ जनालाई रोजगार दिन सफल भएको छ ।
१८ देखि ४५ वर्ष उमेर समूहका लागि किराना पसल, साना उद्योग खोल्न आर्थिक सहयोग गर्ने सीप सिकाउने र रोजगारका लागि रोजगार दातासँग समन्वय गर्दै आएको छ ।
परियोजनाबाट अगरबत्ती, फिनेल तथा शौचालय सफा गर्ने रसायनको उद्योग खोलेका बुद्धभूमिको वडा नम्बर १ चंघाटका दृष्टिविहीन प्रवीन चौधरीले परियोजनाको ५० हजार रुपैयाँ सहयोगमा उद्योग सञ्चालन गरेको बताए ।
घरका ४ जना दृष्टिविहीनले संयुक्त रूपमा उद्योग सञ्चालन गरे पनि उत्पादित सामान बिक्री सहज नभएको उनको गुनासो छ । उद्योग दर्ता नभएका कारण उत्पादित सामग्री सरकारी कार्यालयमा पुर्याए पनि बिल नहुँदा भुक्तानी नभएको चौधरीले सुनाए ।