खोटाङ- खोटाङको बराहपोखरी गाउँपालिकामा २ जना कार्यालय सहयोगीका लागि ५१ जनाको आवेदन परेको छ । १ जना गाउँपालिका र १ जना वडा कार्यालयका लागि नियुक्त गरिने कार्यालय सहयोगीको जागिर पाउन ठूलो संख्यामा आवेदन परेको हो ।
कार्यालय सहयोगीका लागि उदयपुरबाट समेत आवेदन परेको गाउँपालिकाका प्रशासन सहायक रमेश पोखरेलले बताए ।
कार्यालय सहयोगी नियुक्तिका लागि आगामी ५ माघमा परीक्षा सञ्चालन गर्ने गाउँपालिकाको तयारी छ । करार सेवामा २ जना कार्यालय सहयोगी नियुक्तिका लागि गाउँपालिकाले गत २३ भदौमा सूचना प्रकाशन गरेको थियो ।
बेरोजगारी समस्याका कारण कार्यालय सहयोगीकै लागि अपेक्षाभन्दा बढी आवेदन परेको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए ।
छनोट भएका उम्मेदवारमध्ये १ जनालाई गाउँपालिका र अर्कालाई बराहपोखरी गाउँपालिकाको वडा नम्बर ३ साउनेचौर वडा कार्यालयमा खटाउने तयारी छ ।
मासिक १८ हजार रुपैयाँ तलब दिने गरी गाउँपालिकाले एसईई वा सोसरह उत्तीर्ण गरेका १८ वर्षदेखि २५ वर्ष ननाघेका व्यक्तिबाट आवेदन आह्वान गरेको थियो ।