हुम्ला– हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर– ८ स्थित स्याडागाउँमा खानेपानी आयोजना निर्माणका लागि आएको रकम दुरूपयोग भएको छ । खानेपानी उपभोक्ता समितिका अध्यक्षले काम गराएको ५ महिना बित्दासमेत स्थानीयले ज्याला नपाएको गुनासो गरेका छन् ।
स्याडागाउँका करिब २०० जना स्थानीयले मजदुरी गरी कमाएको रकम उपभोक्ता समिति अध्यक्षले व्यक्तिगत काममा खर्च गरेको देखिएको हो ।
२०७७ साउनदेखि होपा खानेपानीको आयोजना निर्माण सुरु गरेको ५ महिना बितिसक्दा पनि खानेपानी उपभोक्ता समितिका अध्यक्ष भैबहादुर बुढाले कामदारलाई ज्याला नदिएको स्थानीयको गुनासो छ ।
समितिका अध्यक्षले स्याडागाउँका करिब २०० मध्ये १०० कामदारलाई ज्याला दिएको र अन्यलाई रकम दिन नमानेको स्याडागाउँका स्थानीय लक्ष्य बुढाले गुनासो गरे ।
गत साउनबाट काम सुरु गरी भदौमा काम सम्पन्न भए पनि मजदुरी गरेको ज्याला नदिएको बुढाले बताए । बुढाले भने, ‘कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत खानेपानीका लागि ६५ लाख रुपैयाँ छुट्याए पनि बालुवामा पानी हालेजस्तै भएको छ ।’
उक्त रकममार्फत गाउँमा ११ वटा खानेपानीका नयाँ धारा बनाइने भनिए खानेपानी उपभोक्ता समितिको लापर्बाहीका कारण जम्मा ९ वटा धारा मात्र निर्माण गरिएको छ । बनाइएका ९ वटा धारामा हालसम्म पानी झर्न सकेको छैन ।
खानेपानीको काम गरे पैसा पाइने र पानीको पनि सुविधा हुने भन्ने आसमा रहका स्थानीयले काम गरे पनि न पानी पिउन पाएका छन्, न त ज्याला नै । उपभोक्ता समितिका अध्यक्ष बुढासँग बुझ्न खोज्दा उनी सम्पर्कमै आउन चाहेनन् ।