close

६८८ तहका बेरोजगारका लागि ३ अर्ब ४५ करोड, ओखलढुंगाको भागमा ९ करोड 

६८८ तहका बेरोजगारका लागि ३ अर्ब ४५ करोड, ओखलढुंगाको भागमा ९ करोड 

Trulli
ADVERTISEMENT

ओखलढुंगा- सरकारले यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि झण्डै साढे ३ अर्ब अनुदान स्थानीय सरकारलाई उपलब्ध गराएको छ । उक्त कार्यक्रमका लागि स्थानीय सरकारलाई ३ अर्ब ४५ करोड रुपैया अनुदान रकम उपलब्ध गराएको हो ।


गत ३ पुसकोे मन्त्रीपरिषद बैठकको निर्णय अनुसार आर्थिक वर्ष २०७७/०७८ का लागि देशभरका ६ सय ८८ पालिकालाई तीन अर्ब ४४ करोड ७० लाख रुपैयाँ सशर्त अनुदान प्रदान गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।


१५ मंसिर २०७७ सम्म रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस)मा बेरोजगार व्यक्तिको विवरण सूचिकृत गरेको आधारमा अनुदान प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

 

स्थानीय तहले सूचिकृत गराएका बेरोजगारीहरुको संख्याको आधारमा अनुदान बाँडिएको मन्त्रालयले जनाएको छ । यो वर्ष नेपाल सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक ५ सय १७ रुपैयाँ तोकेको छ ।


सशर्त अनुदानको रुपमा प्राप्त उक्त रकम श्रमिकको ज्यालामा मात्रै खर्च गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत श्रम मन्त्रालयले पालिकालाई निर्देशन दिएको छ । यस्तै ईएमआईएसमा सूचीकृत बेरोजगारलाई लाभग्राही परिचयपत्र जारी गरेर मात्रै काममा खटाउन समेत मन्त्रालयले पालिकालाई निर्देशन दिएको छ ।


यस क्रममा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत मन्त्रालयले ओखलढुङ्गा जिल्लाका सबै स्थानीय तहहरुका लागि ९ करोड ५० लाख २७ हजार रुपैया अनुदान प्रदान गरेको जनाएको छ । 

 

ओखलढुङ्गामा कसले कति पाए? 

 

यो आर्थिक वर्षमा ओखलढुङ्गाका ८ ओटा स्थानीय तहमध्ये सबैभन्दा बढी सिद्धिचरण नगरपालिकाले २ करोड ६० लाख ५७ हजार अनुदान पाएको छ भने सबैभन्दा कम चम्पादेवी गाउँपालिकाले ५२ लाख ७४ हजार अनुदान पाएको छ ।


सुनकोसी गाउँपालिकाले १ करोड ८३ लाख २ हजार, खिजिदेम्बा गाउँपालिकाले १ करोड १२ लाख १९ हजार, लिखु गाउँपालिकाले १ करोड ९ लाख ६१ हजार अनुदान पाएको छ । 


मानेभञ्ज्याङ्ग गाउँपालिकाले १ करोड ३ लाख ९२ हजार, चिशंखुगढी गाउँपालिकाले ७४ लाख ४५ हजार र मोलुङ गाउँपालिकाले ५३ लाख ७७ हजार अनुदान रकम पाएको छ । अनुदान रकमवाट यो आर्थिक वर्षमा सिद्धिचरण नगरपालिकामा ५०४ जना, सुनकोसी गाउँपालिकामा ३५४ जना, खिजिदेम्बा गाउँपालिकामा २१७ जना, लिखु गाउँपालिकामा २१२ जनाले रोजगार प्राप्त गर्नेछन् । 


मानेभञ्ज्याङ्ग गाउँपालिकामा २०१ जना, चिशंखुगढी गाउँपालिकामा १४४ जना, मोलुङ गाउँपालिकामा १०४ जना र चम्पादेवी गाउँपालिकामा १०२ जनाले गरि यो वर्ष ओखलढुङ्गा जिल्लाका १ हजार ८ सय ३८ जनाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतको रोजगारी प्राप्त गर्ने मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ । 


ओखलढुङ्गा कतिपय पालिकाले निकासा भएको खर्च चाँडै खर्च गरेर सूचिकृत हुन आएका अन्य कामदारलाई पनि थप बजेट माग गरी रोजगारी दिने तयारी थालेका छन् । खिजीदेम्वा गाउँपालिकाले यो वर्ष ३ सयलाई रोजगारी दिने लक्ष्य राखेको रोजगार संयोजक सूर्य प्रकाश सुनुवारले बताए ।