कास्की- पोखराका ८ वटा व्यावसायिक फर्मलाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले नियमविपरीत काम गरेका व्यापारीलाई कारबाही गरेको हो ।
कारबाहीका क्रममा साढे ५ लाख रुपैयाँ जरिमाना पनि उठाइएको छ । कानुनविपरीत काम गरेकाले उपभोक्ता संरक्षण ऐनअनुसार जरिमाना गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
अनुगमनका क्रममा सामान्य कमजोरी भएकालाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ भने गम्भीर गल्ती गर्नेलाई जरिमानासहित चेतावनी दिइएको छ ।
महानगर क्षेत्रभित्रका प्रशोधित खानेपानी उत्पादक, निर्माण सामग्री बिक्रेता, औषधी बिक्रेता, बेकरी उद्योग, फ्रेस हाउसलगायतको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा म्याद नाघेका वस्तु बिक्री गरेको, पसल, व्यवसाय दर्ता नवीकरण नगरेको, बिल नकाटेकोलगायत कैफियत भेटिएका थिए ।