सुनसरी– खानेपानी सेवालाई व्यवस्थित, गुणस्तरीय तथा सुलभ बनाउने उद्देश्यले बुधबारबाट धरान खानेपानी व्यवस्थापन बोर्डले धरानको खानेपानी संस्थानलाई गाभेको छ ।
धरान खानेपानी व्यवस्थापन बोर्डमा नेपाल खानेपानी संस्थानको धरान शाखाको सम्पत्ति, दायित्व र जिम्मेवारी हस्तान्तरण गरिएको व्यवस्थाको जानकारीसहितको पत्र पठाएको पत्रकार सम्मेलनमार्फत धरान उपमहानगर प्रमुख तिलक राईले जानकारी गराएका हुन् ।
१७ फागुनदेखि बोर्डले धरानको सम्पूर्ण उपभोक्तालाई खानेपानी आपूर्ति गर्ने गरी संस्थानको सम्पत्ति, दायित्व र जिम्मेवारी बोर्डमा हस्तान्तरण गरिएको थियो । बोर्डमा संस्थानको सम्पत्ति, दायित्व र जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण भएको धरान उमहानगर प्रमुखसमेत रहेका बोर्ड अध्यक्ष तिलक राईले बताए ।
समायोजनपछि धरानेबासीले खानेपानीको न्यूनतम शुल्क १ सय ३० रुपैयाँ तिर्नुपर्नेछ । हाल धरानमा सुक्खा मौसम सुरु भएसँगै पानीको भूमिगत स्रोत प्रयोग गरेर खानेपानी व्यवस्थापन हुँदै आएको छ ।
धरानको चारकोसे झाडीमा आयोजनाको ४ वटा ट्युबबेलबाट ७० लाख लिटर पानी र संस्थानका ४ वटै ट्युबबेलबाट ५३ लाख लिटर पानी प्रतिदिन उत्पादन भइरहेको धरान खानेपानी व्यवस्थापन बोर्डका निर्देशक तथा इन्जिनियर राजु पोखरेलले बताए ।
धरानको वडा नम्बर १७ स्थित उदय सामुदायिक वन क्षेत्रभित्रको ट्युबबेलबाट पनि ३० लाख लिटर पानी प्रतिदिन उत्पादन भइरहको पोखरेलको भनाइ छ ।