बाजुरा- सदरमुकामसमेत रहेको बडिमालिका नगरपालिकामा गौमूल कोसेली घर सञ्चालनमा आएको छ ।
मिलेमतो बहुउद्देश्यीय सहकारी संस्था गौमूल गाउँपालिका वडा नम्बर १ अम्लिसद्वारा सञ्चालित गौमूल कोसेली घरको मार्तडीमा उद्घाटन भएसँगै सञ्चालनमा आएको हो । कोसेली घरको निवर्तमान सांसद लालबहादुर थापाले उद्घाटन गरे ।
कृषि ज्ञान केन्द्र बाजुराको सहयोग तथा गौमूल गाउँपालिका कृषि विकास शाखाको प्रवर्द्धनमा उक्त कोसेली घर मार्तडीमा सञ्चालनमा ल्याइएको मिलेमतो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र रोकायाले बताए ।
गौमूलको स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले गौमूल कोसेली घर सञ्चालनमा ल्याइएको गाउँपालिकाको कृषि विकास शाखाका प्राविधिक सहायक रमेश विकले बताए ।
कोसेली घरमा गौमूल गाउँपालिकाको स्थानीय उत्पादन सिमी, भाँगो, जौ, कोदो, फापर, मकैलगायत राखिएका छन् ।