म्याग्दी - म्याग्दीको रघुगंगा गाउँपालिका -६ का तीन बस्तीमा विद्युतीकरण भएको छ । भौगोलिक रुपमा विकट रायखोर, उल्लेरी र मूलपानीका ९१ घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेको हो । नेपाल विद्युत् प्राधिकरण, रघुगंगा गाउँपालिका र स्थानीयको साझेदारीमा बिजुली बालिएको वडा सदस्य लीलबहादुर पुनले बताए ।
‘विद्युत् सुविधा भएपछि उज्यालोका लागि टुकी, सोलार र पेल्ट्रिक सेटमा निर्भर हुनुपर्ने बाध्यता हटेको छ,’ उनले भने, ‘उज्यालोका साथै उद्योग व्यवसाय सञ्चालन गर्न र मोबाइल, टेलिभिजन हेर्नसमेत सहज भएको छ ।’
विद्युत् सुविधा पुगेपछि गाउँलेको दैनिकी सहज बनेको छ । छरिएको र सडक सुविधा नभएका तीन बस्तीका बासिन्दा बिजुली बलेर गाउँ झिलीमिली भएपछि खुसी भएका छन् । यसअघि त्यहाँका बासिन्दा उज्यालोका लागि टुकी, सोलार र पेल्ट्रिक सेटमा निर्भर थिए । बिजुली बाल्ने स्थानीयले पोल बोकेरै ढुवानी गरेका थिए ।
रघुगंगाले कात्तिक पहिलो साता बेनीबाट सात सय ५५ किलोग्राम तौल भएका दुई सय केभीए क्षमताको ट्रान्सफर्मर हेलिकप्टरबाट रायखोर र मूलपानीमा ढुवानी गरेको थियो ।
सिम्रिक एयरको हेलिकप्टरमा झुन्ड्याएर दुई ट्रान्सफर्मर ढुवानी गर्दा दुई लाख ६१ हजार ७ सय रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । विद्युत् प्राधिकरणले पाखापानीको कोटगाउँदेखि रायखोर उल्लेरी हुँदै मूलपानीसम्म केन्द्रीय प्रसारण लाइनको पोल गाडेर तार तानेको थियो ।
यसअघि कात्तिक दोस्रो साता रघुगंगा-६ को घन्टीवाङ, टेंगेरेङ, पेक्ना, पुतपुत र कालावाङका ५० घरमा विद्युतीकरण गरेर बिजुली बालिएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिए । ठाडाखानीमा पनि केन्द्रीय लाइन विस्तारको काम भइरहेको उनले बताए ।