close

पैसा तिरेको एक वर्षसम्म स्थानीयले पाएनन् मिटर बक्स

पैसा तिरेको एक वर्षसम्म स्थानीयले पाएनन् मिटर बक्स

Trulli
ADVERTISEMENT

दैलेख - दैलेखको नौमूले गाउँपालिका वडा नं.- १ तोलीका स्थानीयवासीले मिटर बक्सका लागि पैसा तिरेको एक वर्ष बितिसक्दा पनि स्थानीयले मिटर बक्स पाएनन् । नेपाल विद्युत प्राधिकरणमार्फत तीन वर्ष अगाडि नौमूले गाउँपालिका वडा नं.- १ तोलीमा सहायक विद्युत लाइन विस्तार भएको थियो । 


विद्युत लाइन विस्तार भइसकेपछि स्थानीयले गत असोजमा मिटर बक्स जडानका लागि प्रत्येक घरधुरीले दुई हजार ५०० रुपैयाँका दरले रकम तिरेको स्थानीयवासी पदमबहादुर थापा मगरले बताए ।


मिटर बक्सका लागि आफूहरूले पैसा तिरेको एक वर्ष भए पनि अझ मिटर बक्स पाउन नसकेको अर्का स्थानीयवासी सर्वजित थापा मगरले गुनासो गरेका छन् ।


विद्युत जडान नभएकाले वैकल्पिक स्रोत सोलार र टुकीको भरमा बस्नुपरेको मगरले बताए । विद्युत कार्यालयमा समेत जानकारी गराएको तर कुनै पनि सुनुवाइ नभएको स्थानीयवासीले  आरोप लगाएका छन् ।


विद्युत प्राधिकरण दैलेखका कार्यालय प्रमुख शिवजीप्रसाद साहले भने, ‘विगतमा के कसो भएको हो, मलाई थाहा भएन । स्थानीयले मिटर बक्सका लागि निवेदन दिएको हो भने छिट्टै मिटर बक्स पाउनेछन् र तिहार अगाडि नै विद्युत जडान हुनेछ ।’


नौमूले गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरले भने कोरोना महामारीका कारण स्थानीवासीले समयमै मिटर बक्स नपाएको बताए । उनले अब छिट्टै मिटर बक्स पाउने र सबैको घरमा दीपावली अगाडि नै स्थानीयवासीका घरमा बत्ती बल्ने गाउँपालिका अध्यक्ष भदे बुढा मगरको भनाइ छ ।