नुवाकोट - दर्ताबिनै सञ्चालित नुवाकोटका दुई औषधी पसल बन्द गरिएको छ । उपभोक्तालाई बिल नदिने ५ औषधी पसललाई २ लाखका दरले जरिबाना गरिएको छ ।
औषधी व्यवस्था विभाग काठमाडौंको नेतृत्वमा संयुक्त बजार अनुगमन टोलीले विदुर नगरपालिका क्षेत्रका ९ औषधी पसलमा गरेको अनुगमनमा अधिकांशमा समस्या देखिएको छ ।
विदुर नगरपालिका वडा–१ ढुंगेको समीर फार्मेसी, वडा–२ मा रहेको सापकोटा मेडिकल हल, वडा–४ बट्टारमा रहेको सम्मान मेडिकल हल, बट्टार पोलिक्लिनिक एवं अञ्जना मेडिकल हल र विदुर फार्मेसीलाई २ लाख रुपैयाँको दरले कारबाही गर्ने निर्णय भएको छ ।
ती औषधी पसलले बिरामीले औषधी खरिद गर्दा बिल नदिने गरेको पाइएको भेटिएपछि प्रतिपसल २ लाख रुपैयाँको दरले कारबाही गरेको अनुगमन अधिकृत मुकेन्द्र परियारले जानकारी दिए ।
‘उपभोक्ता हित संरक्षण ऐनअनुसार बिल नदिने औषधी पसललाई कारबाहीबापत तोकिएको २ लाख रुपैयाँ १ साताभित्र बैंकमा दाखिला गरेर त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयलाई गराउन निर्देशन दिएका छौं’, नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले भने ।
जिल्लाको म्यागङ गाउँपालिका–३ देउराली बजारमा सञ्चालित छायानाथ मेडिकल हल र देउराली फार्मेसी हलको दर्ता नभएको पाइएकाले कानुनी प्रक्रिया पूरा नभएसम्मका लागि शिल गरिएको छ ।
पसलको दर्ता नभएको र सञ्चालकमा हुनुपर्ने न्यूनतम योग्यतासमेत नपाइएकाले पसल शिल गरिएको अनुगमन टोलीले जनाएको छ ।
जिल्लाको तादी गाउँपालिका–३ खरानीटारको तादी फर्मा र दुप्चेश्वर फार्मेसीले औषधी खरिद गरेको बिल पेस गर्न नसकेको भन्दै १० हजार रुपैयाँका दरले कारबाही गर्ने निर्णय टोलीले गरेको छ ।