रुकुम पूर्व - सिस्ने गाउँपालिका–८ स्थित एक विद्युत् आयोजनामा काम गरेका मजदुरले ६ महिनासम्म पनि ज्याला पाएका छैनन् ।
जामाखोलामा रहेको निर्माणाधीन जामाखोला लघु जलविद्युत् आयोजनामा काम गरेको आधा वर्ष बितिसक्दा पनि मजुदरले ज्याला नपाएका हुन् ।
सिस्ने–८ कि चन्द्रकला परियार भन्छिन्, ‘आयोजनामा गत वैशाखदेखि काम गरिरहेकी छु तर अहिलेसम्म ज्याला पाइएकी छैन ।’ सोही ठाउँकै झुपलाल घर्ती, कुँवेर घर्ती, नौली पुनलगायतको पीडा पनि चन्द्रकलाको भन्दा फरक छैन । उनीहरू पनि भन्छन्, ‘मामको जोहो गर्न काम गरियो, त्यही कामको दाम पाइएन ।’
घरखर्च गुजारा चलाउन भनी विद्युत् आयोजनाको विद्युत्गृह निर्माणको ज्याला नपाउँदा उनीहरू मर्कामा परेका छन् ।
विद्युत् आयोजना निर्माण समितिका सचिव विष्णु सार्की लागत अनुमानअनुसार मजदुरलाई काममा लगाए पनि भुक्तानी कम भएकाले काम गरेको ज्याला दिन नसकिएको बताउँछन् । सचिव सार्कीका अनुसार पहिले जिल्ला समन्वय समिति रुकुमपूर्वले १७ लाख र सिस्ने गाउँपालिकाले ४० लाख गरी ५७ लाख विद्युत् आयोजनाका लागि उपलब्ध गराउने भनिएको थियो ।
सार्की भन्छन्, ‘समितिले पनि त्यसैअनुसार लागत अनुमान तयार गरेको थियो । तर, पछि जिससबाट भुक्तानी नभएको र गाउँपालिकाबाट पनि विद्युतगृह निर्माणका लागि तयार पारिएको ठाउँमा पहिरो झरेपछि २१ लाख १ हजार मात्र भुक्तानी दिएकाले मजदुरलाई ज्याला दिन नसकिएको हो ।’
जिससका प्रमुख गजेन्द्रबहादुर ओली भने समितिलाई रकम उपलब्ध गराउने विषयमा आफूहरूसँग कुनै सम्झौता नभएको बताउँछन् । यस विषयमा आफूलाई कुनै जानकारीसमेत नभएको उनको भनाइ छ ।