close

राक्सिङबासी ४ महिनादेखि सञ्चारसम्पर्क बाहिर 

राक्सिङबासी ४ महिनादेखि सञ्चारसम्पर्क बाहिर 

Trulli
ADVERTISEMENT

मकवानपुर– जिल्लाको विकट गाउँपालिका राक्सिराङका स्थानीय विगत चार महिनादेखि सञ्चार सम्पर्कबाट टाढिएका छन् ।

 

राक्सिराङ–१ मा करिब ४ महिनादेखि सञ्चार सम्पर्क विच्छेद छ । गत १३ जेठमा आएको हावाहुरीका कारण राक्सिराङ–२ स्थित भाँटीथुम्कीमा रहेको नेपाल टेलिकमको टावरमा क्षति पुगेपछि मोबाइल सेवा ठप्प भएको हो । स्थानीयले पटकपटक टावर मर्मतको लागि टेलिकमलाई आग्रह गरे पनि बेवास्ता गरेको स्थानीयले गुनासो गरेका छन् ।

 

टेलिकमको टावरमा समस्या आएपछि राक्सिराङ गाउँपालिका–१ का ईन्द्रुङ, बरेटार, बिरालीटार, बाराङ, कुभिन्टार, घ्याङसिङटार, भुमेथुम, हेटौंडा–१९ को सिरानचोक, कुवापानी, बेशीटोल, बासघारी, शेरशेर, खोल्माडाँडालगायतको क्षेत्रमा गत १३ जेठदेखि नेपाल टेलिकमको नेटवर्क नआएको १ नम्बरका वडाध्यक्ष कान्छाराम रुम्बाले बताए ।

 

‘नेपाल टेलिकम हेटौंडाका प्रमुख तथा इन्जिनियरहरुलाई मर्मत गरिदिन पटकपटक आग्रह गरेपनि आजसम्म सुनुवाई भएको छैन,’ रुम्बाले पालिकाखबरसँग भने, ‘सिडिओलाई समेत योबारे पटकपटक जानकारी गराइसकेँ, टेलिकममा त झन ३ पटक धाइसकेँ ।’

 

अध्यक्ष रुम्बाको नेतृत्वमा ३५ जनाभन्दा वढी स्थानीयबासी नेपाल टेलिकम हेटौंडा शाखामा गुनासोका लागि पुगे । स्थानीयले टेलिकमको नयाँ टावर राख्नेबारे यसअघि पनि तयारी भएको तर काम भने अघि नबढेको भन्दै ध्यानाकर्षण गराएका छन् ।

 

राक्सिराङकै राम्चे, कोलगैरीलगायतका क्षेत्रमा हालसम्म पनि टेलिकमको नेटवर्क टिप्दैन । स्थानीयबासीको गुनासो सुनिसकेपछि नेपाल टेलिकम हेटौंडाका इन्जिनियर रितिक तिवारीले टेलिकमको टावर निर्माणको लागि केहीदिनमै प्राविधिक गाउँ पुगिसक्ने आश्वासन दिएका छन् । नयाँ टावर निर्माणको लागि प्राविधिक सर्भे गरिने उनले बताए ।