काठमाडौं– सन्राइज बैंकले रसुवाको स्याफ्रुबेंसीमा रहेको लाङटाङ खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता भएको छ । उक्त आयोजनामा सन्राइज बैंकको अगुवाइमा सिद्घार्थ बैंक तथा एनसीसी बैंकको सहभागितामा करिब ३ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भएको हो ।
प्रवद्र्घक कम्पनी मल्टी इनर्जी डेभलपमेन्ट प्रालि र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको छ । कम्पनीका अध्यक्ष कृष्णप्रसाद आचार्य स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) नेपालका अध्यक्ष हुन् ।
२० मेगावाट क्षमताको यो आयोजनाको लागत ३ अर्ब ६४ करोड रुपैयाँ अनुमान गरिएको छ । कम्पनीले यो आयोजना निर्माण ठेकेदार परिचालन भएको ३० महिनाभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ ।
आयोजना निर्माण सम्पन्न भएपछि उत्पादित विद्युत् चिलिमे हब सब–स्टेसनमा जोडिनेछ । यो आयोजना लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्दछ । कम्पनीका अनुसार आयोजनाबाट वार्षिक १३३.३० गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ, जसमा सुक्खायामको उत्पादन ३४.७ गिगावाट घन्टा र बर्खायामको उत्पादन ९८.६ गिगावाट घन्टा हुनेछ ।
यसअघि यो आयोजना इपिसिएफ (इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन एन्ड फाइनान्स) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीसँग सम्झौता भएको थियो ।
तर, कोरोना महामारीका कारण चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार नेपाल आउन नसकेपछि परियोजनाको पुनरवलोकनपछि हाल बीओक्यु (बिल अफ क्वान्टिटी) मोडलमा परियोजना निर्माण नेपाली ठेकेदारमार्फत सम्पन्न गर्ने कम्पनीले लक्ष्य लिएको छ ।