ताप्लेजुङ– ताप्लेजुङका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । बैंक पुग्न बाँकी रहेको मिक्वाखोला गाउँपालिकामा सेञ्चुरी बैंकले शाखा विस्तार गरी कारोबार सुरु गरेसँगै ताप्लेजुङका ९ वटै स्थानीय तहमा बैंकिङ सेवा पुगेको हो ।
स्थानीय तहलाई बैंकिङ सञ्जालमा जोड्ने सरकारको योजनाअनुसार सेञ्चुरी बैंकले शाखा विस्तार गरी मिक्वाखोलाको केन्द्र थलङबाट बैंकिङ कारोबार सुरु गरेको हो ।
८ वटा स्थानीय तहमा बैंकिङ सेवा पुगे पनि मिक्वाखोलामा सो सेवा सुरु हुन नसक्दा सो क्षेत्रका बासिन्दाले कारोबारका लागि सदरमुकाम फुङलिङ धाउनुपर्ने बाध्यता थियो ।
बैंकिङ सेवा सुरु भए पनि इमेल/इन्टरनेटको भरपर्दो विकल्प नहुँदा सेवा प्रवाहमा भने कठिनाइ हुने शाखा प्रबन्धक पुष्पराज पौडेलले बताए । मिक्वाखोलाका पुगेको सेञ्चुरी बैंकको शाखामा अहिले ५ जना कर्मचारी छन् ।
फुङ्लिङ नगरपालिकामा नेपाल बैंक र कृषि विकास बैंकसहित दर्जन हाराहारी निजी बैंकका शाखा छन् । मेरिङ्देन गाउँपालिकामा एनसीसी, आठराई त्रिवेणी गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंक, मैवाखोलामा सनराइज बैंकले सेवा प्रवाह गरिरहेका छन् ।
यस्तै, सिरिजंघा गाउँपालिकामा नेपाल बैंक, फक्ताङ्लुङमा ग्लोबल आइएमई बैंक तथा पाथीभरा याङ्बरक र सिदिङ्वा गाउँपालिकामा लक्ष्मी बैंकले सेवा प्रवाह गरिरहेका छन् ।