काठमाडौं- गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
बैंक संचालक समितिको १० पुसमा सम्पन्न बैठकले बैंकको चुक्ता पुँजीको १३.५० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको बताइएको छ ।
प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।
हाल यस बैंकको चुक्ता पुँजी तीन अर्ब २३ करोड ८६ लाख ८९ हजार ४२८ रुपैयाँ छ । ४३ करोड ७२ लाख २३ हजार रुपैयाँ बराबरको बोनस वितरणपछि बैंकको चुक्ता पुँजी तीन अर्ब ६७ करोड ५९ लाख १२ हजार ५०० रुपैयाँ पुग्नेछ ।
अघिल्लो आव २०७५/०७६ मा यस बैंककले १६.१५ प्रतिशत बोनस शेयर र ०.८५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।