स्याङ्जा– फेदीखोला गाउँपालिकाले बाँझो जमिनको उपयोगका लागि किसानलाई अनुदान उपलब्ध गराउन दोस्रोपटक सूचना प्रकाशन गरेको छ । गाउँपालिकाको लक्ष्य अनुसारको आवेदन नपरेपछि समय थप गरेर पुनः सूचना प्रशासन गरेको हो ।
गाउँपालिकाले फागुन ६ गते दोस्रोपटक सूचना जारी गर्दै बाँझो जमिनमा खेती गर्न इच्छुक कृषक, कृषि समुह तथा कृषि सहकारीलाई १५ दिनभित्र आवेदन पेश गर्न अनुरोध गरेको छ ।
बाँझो जमिनमा धान, कोदो, मकै, फापर, गहुँ दलहन वा तरकारी खेती गर्नका लागि पालिकाले अनुदान उपलब्ध गराउन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पौडेलले बताए । गाउँपालिकाले आफ्नै बाँझो जमिनमा खेती गर्दा प्रतिरोपनी दुई हजार रुपैयाँ तथा बाँझो जग्गा भाडामा लिएर खेती गर्दा प्रतिरोपनी दुई हजार ५०० रुपैयाँ उपलब्ध गराउने उनले जानकारी दिए ।
फेदीखोला गाउँपालिकाको बाँझो जग्गा उपयोग अनुदान भुक्तानी कार्यविधि, २०७७ अनुसार बाँझो जमिनमा खेती गर्न चाहने स्थानीयलाई गाउँपालिकाले अनुदान उपलब्ध गराउँदै आएको उनले बताए ।
उनका अनुसार चालु आर्थिक वर्षमा कम्तिमा सय रोपनी बाँझो जमिनमा खेतीको लागि अनुदान उपलब्ध गराउने गाउँपालिकाले लक्ष्य लिएको छ । तर लक्ष्यअनुरुप आवेदन नपरेको उनले बताए । उनले पालिकाखबरसँग भने, ‘१०/१२ रोपनीको लागि मात्र आवेदन परेको छ । गाउँपालिकाको सूचना पाउन छुट्नु भएकासम्म खबर पुर्याउन पुन सूचना प्रशासन गरेका हौँ ।’
दुई वर्षदेखि बाँझो रहेका जग्गामा खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको उनले बताए ।