रुकुम पश्चिम– बाँफिकोट गाउँपालिकाका एकै जना किसानले नै १८ लाख रुपैयाँ बराबरकाे मह उत्पादन गरेका छन् । वडा नं १ का महेन्द्र मल्लले यस वर्ष मात्रै १८ लाख बराबरको मह बिक्री गरेका हुन् ।
यस वर्ष पालिकाभित्रका किसानले ६५ क्वीन्टल मह उत्पादन गरेको कृषि शाखाका प्रमुख लोकेन्द्र ओली बताउँछन् । उनका अनुसार वडा नं १, २, ३ र ६ को माथिल्लो भागका ३५० घरधुरीले मौरी पालन गर्दै आएका छन् ।
गत वर्षभन्दा यस वर्ष महको उत्पादनमा वृद्धि भएको उनले पालिकाखबरलाई बताए । गत वर्ष पानी धेरै परेकोले मह उत्पादनमा ह्रास आएको उनले सुनाए । मौरीले मह बनाउने समयमा वर्षा नभएका कारण यो वर्ष महको उत्पादन बढेको उनको भनाइ छ ।
गाउँपालिकाका माथिल्लो क्षेत्रमा सेरेना जातको मौरी बस्ने गर्छ । किसानले परम्परागत शैलीबाट घार र मुढे घारमा सेरेना जातको मौरी पालन गर्दै आएका थिए । तर पछिल्लो समय किसानले आधुनिक घारबाट मौरी पालन गर्न थालेपछि महको उत्पादन बढेको उनको भनाइ छ ।
किसानले मौरी चरनको लागि कल्की तथा तोरी खेती लगाउने गरेको उनले सुनाए । उता जङ्गलमा चिउरी पनि फुल्ने भएकोले मौरी चरनमा समस्या नभएको उनले बताए । एउटा घारबाट कम्तीमा ५केजी मह उत्पादन गर्न सकिने उनले बताए । स्थानीय स्तरमा उत्पादित मह किलोको एक हजार दुई सय रुपैयाँमा बिक्री गर्ने गरेको उनको भनाइ छ । पालिकामा उत्पादित महको पोखरा, बुटवलदेखि काठमाडौंसम्ममा माग बढेको उनको भनाइ छ ।