close

पर्वतमा किसानका लागि पोषण सुरक्षा कार्यक्रम

पर्वतमा किसानका लागि पोषण सुरक्षा कार्यक्रम

Trulli
ADVERTISEMENT

पर्वत। पर्वतमा किसानका लागि पोषण सुरक्षा कार्यक्रम सुरु भएको छ । किसानको आनीबानीमा सुधार गरी पोषणयुक्त खानाका साथै आयआर्जनसमेत गर्न सकुन भन्ने उद्देश्यले पर्वतस्थित कृषि ज्ञान केन्द्रले ‘ग्रामीण किसान पोषण सुरक्षा कार्यक्रम’ लागू गरेको हो । 

ग्रामीण क्षेत्रका किसानले पोषणयुक्त खानामा ध्यान नदिनुका साथै भात, ढिँडो, मकै, रोटीलगायत बढी खाने गरेकाले पोषणयुक्त खानाका लागि प्रेरित गर्न उक्त कार्यक्रम लागू गरिएको केन्द्रकी प्रमुख मनिता थापाले बताइन्। ‘अन्नबालीका साथै मासु, मह, अन्डा र ताजा तरकारी पनि उत्तिकै मात्रामा सेवन गर्नुपर्ने हुन्छ । तर पछिल्लो समय युवा विदेश पलायन हुन थालेका छन् भने कृषि पेसा गर्ने पनि निर्वाहमुखी बन्दै गएका छन्’, उनले भने।

 जमिन बाँझो राख्ने र खाद्यान्न बजारबाट किनेर खाने चलन बढेकाले पोषणयुक्त खानाको कमी हुँदा विभिन्न रोगको सङ्क्रमण बढ्ने भएपछि जिल्लास्थित कृषि ज्ञान केन्द्रले पिछडिएका बस्तीका किसानका लागि उक्त कार्यक्रममार्फत सहयोग थालिएको प्रमुख थापाको भनाइ छ ।

कार्यक्रमअन्तर्गत मोदी गाउँपालिका–४ हलहलेका किसानलाई माहुरीघार, कुखुराका चल्ला तथा विभिन्न तरकारीको बिउ वितरण गरिएको छ । उनका अनुसार हलहलेस्थित सिद्ध हलहले कृषि तथा पशुपक्षी किसान समूहमा आवद्ध किसानलाई मौरीका गोलासहितका ३० घार वितरण गरिएको छ भने कोइलर जातको चल्ला चार सय र  मौसमी तथा बेमौसमी तरकारीको बिउ वितरण गरिएको छ । 

‘रू पाँच लाख ५७ हजार भन्दा बढीको मौरी, कुखुरा र बिउ वितरण गरिएको छ । किसानले अर्गानिक खेती गरी उत्पादन वृद्धि गर्नाका साथै आयआर्जन समेत गर्न सक्नेछन्’ प्रमुख थापाले भनिन् । पौष्टिकयुक्त आहारले स्वास्थ्यमा समेत सुधार हुने भएकाले कुनैपनि बालबालिका वा किसान कुपोषण मृत्यु हुन नपरोस् भनेर कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो ।

कृषि प्रसार अधिकृत विश्वास काफ्लेले ग्रामीण तथा पिछडिएका क्षेत्रका नागरिकलाई लक्षित गरी ग्रामीण पोषण सुधार कार्यक्रम सञ्चालन गरिएको बताए। जिल्लाका अन्य पिछडिएका पालिकालाई समेत लक्षित गरी यस्ता कार्यक्रम सञ्चालन गरिने छ ।