close

मकै खेति छाडेर किबीतर्फ आकर्षित हुँदै किसान

मकै खेति छाडेर किबीतर्फ आकर्षित हुँदै किसान

Trulli
ADVERTISEMENT

डोटी । डोटीका किसानहरू किबी खेतीतर्फ आकर्षित हुन थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको कृषि आधुनिकीकरण नीतिले जिल्लाका किसानहरू किबी खेतीप्रति आकर्षित हुन थालेका हुन् । 

मकै फल्ने बारीमा किबीबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानहरू किबी खेतीतर्फ आकर्षित भएका हुन् । एक पटक रोपेपछि वर्षौंसम्म आम्दानी लिन सकिने भएपछि किबी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको हो । 

जिल्लाको जोरायल गाउँपालिका-५ गड्सेरा, दिपायल सिलगढी, शिखर नगरपालिकालगायत ठाउँमा किबी खेती गरिँदै आएको छ । 

नौं वर्ष पहिले परीक्षणका लागि लगाइएको किबीले अहिले राम्रो फल दिन सुरु गरेको सिलगढीका स्थानीयबासी तथा किबी खेती गर्दै आएका किसान हेम मल्लले बताए । आफ्नो बारीमा उत्पादन भएका किबी स्थानीय बजारसँगै छिमेकी जिल्लाहरू डडेलधुरा तथा कैलालीसम्म माग हुने गरेको उनको भनाइ छ । यहाँका किसानले जिल्लामा अहिले व्यावसायिक रुपमा किबी खेती गरेर मनग्य आम्दानी गर्ने गरेको अर्का किबी किसान तथा जोरायल गाउँपालिका-५ गड्सेराका स्थानीय लिलाधर विष्टले बताउँछन् ।

जिल्लामा उत्पादन भएको किबी प्रतिकिलो स्थानीय बजारमा २५० देखि ३०० सम्म सहजै बिक्री वितरण हुने गरेको उनको भनाइ छ ।  किबी खेती १ हजार २०० देखि २ हजार फिटसम्मको उचाइमा लगाउन सकिने कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ । ज्ञान केन्द्रका अनुसार यहाँका विभिन्न ठाउँमा १ हजार ७०० देखि १ हजार ८०० फिटसम्मको उचाइमा किबी खेती गरिएको छ । 

किबी खेतीका लागि डोटी जिल्ला उपयुक्त रहेको र किसानहरूलाई प्रोत्साहन गर्न प्रदेश कृषि विकास निर्देशनालयले सहयोग गर्दै आएको सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरका निर्देशक यज्ञराज जोशीले बताए । 

किबीको बिरुवा रोपेको तीन वर्षमा फल दिन सुरु गर्ने भए पनि डोटीमा भने दुई वर्षमै किबीले फल दिन थालेको सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरले जनाएको छ । रोपेको तीन वर्षबाट उत्पादन दिन सुरु गर्ने यो बिरुवाले लगातार ५० वर्षसम्म राम्रो उत्पादन दिने किबी केन्द्रको दाबी छ ।