close

बिक्री नहुँदा उत्पादित आलु बारीमै

बिक्री नहुँदा उत्पादित आलु बारीमै

Trulli
ADVERTISEMENT

काठमाडौं । रुकुमपूर्वमा उत्पादित आलुले बजार नपाउँदा किसान समस्यामा परेका छन् ।

गाउँपालिकाका तक, सेरा, दमचन, घुम्लिबाङ, मयाङ, गर, चारगाउँलगायत अधिकांश ठाउँमा उत्पादित आलु बिक्री नहुँदा किसान मारमा परेका हुन् ।

उत्पपादित आलुले बजार नपाउँदा कुहिन्छ कि भन्ने पीरले सताएको वडा–१०का चेबाङ कृषक समूहकी सदस्य सातमाया बुढाले बताइन् । 

चक्लाबन्दी कार्यक्रममार्फत समूहले उत्पादन गरेको आलु बजार पठाउन नसक्दा आफूहरू समस्यामा परेको उनको भनाइ छ ।  आलु बिक्री नहुँदा र घरमा राख्ने ठाउँ नहुँदा बारीमै प्लाष्टिकले छोपेर राख्नुपरेको सदस्य बुढाले बताइन् । 

बर्खाको समय भएका कारण पानी पर्ने भएकाले बारीमै प्लाष्टिकले छोपेर आलु राख्दा पानी परेर कुहिन सक्ने र बारीमै खुलारूपमा राखेको आलुको स्वाद पनि बिग्रने उनले बताइन् । 

‘अहिले पुथा उत्तरगङ्गा गाउँपालिकाको सबै ठाउँमा आलु खन्ने काम धमाधम चलिरहेको छ ।’  सदस्य बुढाले भनिन्, ‘आलु खनेर बारीमा थुपारेका छौँ, उत्तरगङ्गा नदीमा पुल नहुँदा पनि हामीले यहाँ उत्पादन गरेको आलु जिल्ला सदरमुकाम रहेको रुकुमकोटको बजारसम्म पुर्‍याउन पनि सकेका छैनौँ ।’

उत्तरगङ्गा नदीमा पुल नहुँदा सवारी साधन वारपार गर्न नसक्ने र तकसम्म गाडी जान नसक्दा र आफूहरुले आलु बोकेर उत्तरगङ्गा नदी पार गर्न नसक्दा आलु घर तथा बारीमै थन्क्याएर राख्नुपरेको छ । 

यस्तै गाउँपालिकाको ११ नं वडा दमचनका नमूना कृषक समूहका सचिव हृदय बुढाले दमचनमा उत्पादन भएको आलुले बजार नपाएको गुनासो गरिन् । 

दुःख गरेर गाउँवासीले लगाएको आलु बजारमा पुर्‍याउन नसक्दा कतिपयको आलु कुहिन सुरु गरेको उनको भनाइ थियो । उत्पादित आलुको मूल्य पनि आफूहरूले भनेजस्तो नभएको सचिव बुढाले बताए । 

बजारमा आलुको मूल्य प्रतिकिलो  एक सय रहेको र आफूहरूले घरबाटै एक सयमा बेच्न खोज्दा ढुवानी खर्च पनि नउठ्ने पीडा उनले सुनाए ।

भूमे गाउँपालिका–९ का किसान धनबहादुर ओलीले पनि आफूले उत्पादन गरेको आलुले बजार नपाएको गुनासो गरे । आफूले उत्पादन गरेको र गाउँका अन्य मानिसले उत्पादन गरेको सबै आलु घरमै थन्क्याएर राख्दा आलु कुहिन थालेको उनको भनाइ छ । 

आलु कुहिन सुरु गरेको र बजार व्यवस्थापनको सुरसार केही नदेख्दा किसानमा निराशा छाएको किसान ओलीले बताए । यस्तै आलु ब्लक कार्यक्रम सञ्चालन भएको भूमे गाउँपालिकाको ७ नं वडामा उत्पादित आलु पनि घरमै थन्किएको छ । बीउ अभावका बेलामा खोजीखोजी लगाएको आलको उत्पादन राम्रो भए पनि बजारमा पुर्‍याउन नसक्दा विगतका वर्षहरू नै आफ्नो उत्पादन खेर गइरहेको किसानले बताउँदै आएका छन् । 

एकीकृत कृषि तथा पशुपक्षी विकासरुकुमपूर्वको कार्यालयका प्रमुख पिताम्बर बस्नेतले आलुको बजार व्यवस्थापनमा भौगोलिक विकटताले केही समस्या भए तापनि किसानले मूल्य निर्धारण गर्न नसक्दा समस्या भएको बताए । 

किसानले आफूले उत्पादन गरेको आलुको मूल्य बजारको मूल्यभन्दा चर्को भन्ने गरेका कारण पनि त्यहाँको आलु बजारसम्म पुग्न नसेको उनको भनाइ छ ।