close

जुम्लामा स्याउको उत्पादन बढ्यो, किसानलाई टिप्न भ्याइनभ्याइ

जुम्लामा स्याउको उत्पादन बढ्यो, किसानलाई टिप्न भ्याइनभ्याइ

Trulli
ADVERTISEMENT

जुम्ला । स्याउ किसानलाई यो याममा स्याउ बगैँचामा स्याउ टिप्न चटारो परेको छ । स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले जानकारी दिए ।

बगैँचाको स्याउ टिपेर बिक्री गर्न थालिएको छ । उनले भने, “स्थानीय जातको स्याउ र गोल्डेन, जातका स्याउ लगाएका छन् ।  स्थानीय जातको जुम्ली स्याउ पाक्न थालेको छ । घरमै प्रतिकेजी ६० मा बिक्री सुरु गरेका छौँ । गाउँकै स्थानीय व्यापारीले सुर्खेत, नेपालगञ्ज लिने गरेका छन् ।” पाँच हजार रोपनीमा पातिहाल्ल स्याउ तथा कृषि समूह गठन गरी करिब एक हजार स्याउका बिरुवा र केही ओखरका बोट लगाएका छौँ । स्याउ लगाएको चार वर्षपछि फल दिन थालेको छ । यो वर्षमा २८० किलो बिक्री भइसकेको पातिहाल्ल स्याउ तथा कृषि समूहका सचिव गोरीकला बस्नेतले बताए । 

अरू जातमा गुलियोपन आइसकेको छैन । किसानले मागअनुसार बिक्री गर्ने हो । अहिले जिल्लाको स्याउ तराईका विभिन्न सहरमा जाने गरेको जुम्लाका स्याउ किसान बताउँछन् । कृषि विकास कार्यालय जुम्लाले जिल्लाका किसानदेखि उद्यामी र समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको कार्यालयले जनाएको छ । गोल्डेन जातको स्याउ असोजदेखि राम्रोसँग परिपक्व हुने भएकाले अहिले स्थानीय जात र गोल्डेन जातका स्याउ मिलाएर व्यापारीले लिने गरेका छन् । १०५ क्विन्टल स्याउ सुर्खेत र अछाममा बिक्री गरी १२ लाख बराबरको कारोबार भएको तिला गाउँपालिका–२ मा रहेको कृषि सङ्कलन केन्द्रका व्यवस्थापक मानबहादुर बोहोराले जानकारी दिए । 

जिल्लामा कति प्रतिशत स्याउ उत्पादन भएको छ ।  कति प्रतिशत स्याउ बाहिरी जिल्लामा निर्यात भएको तथ्याङ्क सङ्कलनमा स्थानीय तहका कृषि शाखासँग समन्वय भइरहको छ । गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादन केही बढेको अनुमान गर्न सकिन्छ । सही तथ्याङ्क आउन केही समय लाग्ने कृषि विकास कार्यालय जुम्ला प्राविधिक सुकिराम नेपालीले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाका अनुसार परिपक्व भएको स्याउ मात्र खरिद गर्न व्यापारीलाई अनुरोध गरिएको छ । विशेषगरी कर्णाली राजमार्गअन्तर्गतका स्याउ बगैँचा व्यापारीको आँखामा पर्ने गरेका छन् । दुवानीमा सहज हुने भएकाले गाउँका स्याउ बगैँचाभन्दा सडकले छोएका स्याउ बगैँचाको मूल्य बढी हुने गरेको स्याउ व्यापारी बताउँछन् ।

जिल्लाका आठवटै स्थानीय तहमा स्थानीय जातको जुम्ली स्याउ, इटाली, गाला, गोल्डेन, फुजी र जोनाप्रिन्स जातका स्याउको खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ  जुम्लाले जनाएको छ ।