close

भूमे गाउँपालिकाको अर्गानिक आलुले बजार नपाएपछि...

भूमे गाउँपालिकाको अर्गानिक आलुले बजार नपाएपछि...

Trulli
ADVERTISEMENT

रुकुम (पूर्व) । भूमे गाउँपालिका–७ गुनाम गाउँका किसानले खेतबारीमा अर्गानिक आलु फलाएका छन् । तर अर्गानिक आलुले बजार नपाएपछि किसान चिन्तित बनेका छन् ।

प्रदेश सरकारले गुनाम गाउँलाई आलु ब्लक विकास कार्यक्रम समेत सञ्चालन गरेको छ । विगतदेखि नै गुनाम गाउँमा आलु धेरै फल्ने गरेको थियो । आलु उत्पादनमा किसानलाई थप प्रोत्साहन दिनका लागि प्रदेश सरकारले आलु ब्लक विकास कार्यक्रम सञ्चालन गरेको हो ।

आलु ब्लक विकास कार्यक्रमलाई कार्यान्वयनका लागि जिल्लामा रहेको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय र भूमे गाउँपालिकाले आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ । 

आलु ब्लक विकास कार्यक्रमले आलु उत्पादकत्व वृद्धि भएको लालीगुराँस कृषक समूहका सचिव कुमार सुनारले बताए । प्रदेश सरकारले आलु ब्लक विकास कार्यक्रम सञ्चालन गरेपछि सरकारले कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ उपलब्ध गरेको थियो । साथै कृषि प्राविधिक र रोग तथा कीराबाट जोगाउनका लागि जैविक विषादी सरकारले उपलब्ध गरेको थियो ।

आलुको उन्नत बीउ तथा कृषि प्राविधिक सहितको सरकारले आलु ब्लक विकास कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन भएपछि आलु उत्पादकत्व वृद्धि भएको सुनारको भनाइ छ । गुनाम गाउँमा करिब तीन सय घरधुरी छन् । प्रत्येक घरले २ क्विन्टलदेखि ७ क्विन्टलसम्मको आलु फलाएका छन् । 

गाउँभरीमा गरी १६० क्विन्टल हाराहारीमा आलु बिक्रीका लागि तयार रहेको कृषक समूहका सचिव सुनारले जानकारी दिए । सबैको घरघरमा अर्गानिक आलु फलेको तर उक्त आलुले बजार नपाउँदा आफूहरू चिन्तित बन्नु परेको सुनारको भनाइ छ । बजारसम्म पुर्‍याउनका लागि वर्षाका कारणले गाउँको सडक अवरुद्ध भएकाले थप समस्या व्यहोर्नु परेको सुनारको भनाइ छ ।

गाउँमा फुटकर प्रतिकिलो आलु ४० रुपैयाँमा बेच्ने गरेका छन् भने सहकारीले थोकमा खरिद गरिदिने भएपछि प्रतिकिलो ३२ रुपैयाँमा आलु खरिद गरिदिने कृषक समूह र सहकारीबीच सहमति भएको छ ।

भूमे गाउँपालिकाका कृषि प्रसार अधिकृत स्वतन्त्रराज चौधरीका अनुसार उक्त आलु मारिङ बहुउद्देश्यीय सहकारी सङ्घमार्फत खरिदका लागि कुरा भइरहेको बताए । यद्यपि वर्षाका कारण सडक अवरुद्ध भएपछि आलु बजारसम्म ल्याउन नसकिएको चौधरीले बताए ।

उत्पादित आलुलाई खेर जान नदिनका लागि अवरुद्ध भएको सडक गाउँपालिकाले खुलाइदिने र अबको केही दिनमै सहकारी सङ्घले गाउँमै पुगी किसानका सबै आलु खरिद गरिदिने चौधरीले बताए ।