झापा । अज्ञात रोगका कारण खोरमै बङ्गुर मर्न थालेपछि मेचीनगर नगरपालिका–६ का भक्तबहादुर राई चिन्तित बनेका छन् ।
एक हप्ताको अन्तरालमा उनले पालेका ५८ उन्नत जातका बङ्गुर मरिसकेका छन् । स्मार्ट एग्रो फार्म नामक संस्था दर्ता गरेर विगत दुई वर्षदेखि किसान राईले ४७ लाखको लागतमा मेचीनगर–८ स्थित मङ्गलचोकमा बङ्गुर पाल्नु सुरु गरेका थिए । फार्ममा रहेका ९४ विभिन्न प्रजातिका बङ्गुरमध्ये ५८ अज्ञात रोगका कारण मरेका छन् ।
ल्याण्डप, पाख्रीबास, डिउरो, होल्याणजस्ता उन्नत जातका बङ्गुरपालन गरेका राईको खोरमै दैनिक ६ देखि ७ वटासम्म १३० केजीसम्मका सुँगुर मर्न थालेपछि उनलाई बाँकी रहेका बङ्गुर जोगाउन मुस्किल परिरहेको छ ।
'हप्तादिनको अवधिमा ५० किलोदेखि १३० किलोसम्मका बङ्गुर भटाभट मरे', उनले भने, 'पाठापाठीको त हिसाबै राखेका छैनन् । मरेकामध्ये पाँच ठूला बङ्गुरको मात्र इन्स्योरेन्स गरेको थिएँ ।'
बङ्गुरमा छेरौटी, उच्च ज्वरो, आहारा नखाने र झोक्राएर बस्नेजस्ता लक्षण देखिएको उनको भनाइ छ । हालसम्म मेचीनगर नगरपालिकाको पशुसेवा विभागले प्रयोगशाला परीक्षण नगरेको जनाएको छ । विभाग प्रमुख पशु प्राविधिक छत्रबहादुर राईले रोगको पहिचानका लागि जिल्लाको समन्वयमा प्रयोगशाला परीक्षणका लागि पठाउने तयारी भइरहेको बताए ।