close

स्वादिलो आलुले उपभोक्ता दंग, हरियो मकैले छायो किसानमा उमङ्ग

स्वादिलो आलुले उपभोक्ता दंग, हरियो मकैले छायो किसानमा उमङ्ग

Trulli
आलुखेती क्षेत्र
ADVERTISEMENT

बागलुङ । गुल्मीको मुसिकोट नगरपालिका–८ का किसान आलु खेतीतर्फ आकर्षित हुँदै गएका छन् । पहिले परम्परागत खेती गरिरहेका किसान विगत १० वर्षयता व्यावसायिक आलुखेती गरिरहेका छन् । 

परम्परागत रूपमा खेती गर्दै आएकी माझखर्ककी लक्ष्मी सापकोटा सामूहिक रूपमा खेती गर्न थालेपछि सजिलो भएको बताउँछिन् । 

१० वर्षयता हामीले सामूहिक आलुखेतीबाट आफूहरूले घरायसी खर्च धानिरहेको उनको भनाइ छ । तम्घासमा तालिम लिएर १० वर्षयता आफूहरूले सामूहिक खेती गर्दै आएको उनले बताइन् । उनले भनिन् ,‘समूहमा खेती गर्दा मल राख्न, पानी राख्न, बिउ किन्न सजिलो हुन्छ ।’ 

सोही समूहकी अर्की सदस्य तुल्सी सापकोटाले समूहमा महिला मात्रै रहेको बताउँदै काम गर्न सम्भव भएको भएको बताइन् । उनले भनिन्, ‘हामीले समूहमा काम गरेर घरखर्च चलाएका छौँ ।’

गाउँबाट बस्ती पातलिँदै गएको बताउँदै आफैँ स्वरोजगार बन्न खोजे पनि बाँदरले चिन्ता थपेको उनले बताइन् । उनले भनिन्, ‘बादरले साह्रै सताउन थालेको छ । सरकारले बाँदर लखेटेर सहयोग गरिदिए हुन्थ्यो ।’ 

त्यस्तै, सन्कोलकी पार्वती खरेलले निरन्तर आलुखेती गरी आलु बेच्न थालेको १० वर्ष भयो । अहिले पनि उनी एक्लैले पाँच क्विन्टल बिउ लगाएकी छन् । उनको पनि गुजारा घरबाटै आलु बेचेर चलिरहेको छ । 

आलु तथा अलैँची उत्पादक कृषि महिला समूहकी सचिवसमेत रहेकी दीलमाया घर्तीराना चार वर्षदेखि आलुखेती गरिरहेकी छन् । 

उनको समूहमा १२ जना सदस्य छन् । उनीहरूले १५ क्विन्टल बिउ लगाएक छन् । तर, उत्पादन भएको आलुको बजार त्यति राम्रो नभएको उनको गुनासो छ । उनले भने, ‘६ महिना लगाएर घरबाटै आलु बेच्छौँ । जसका कारण आम्दानी पनि देखिँदैन । उनले भनिन्, ‘हामी महिलाले आलु बेचेर घर चलाएका छौँ ।’ 

महिलालाई उद्यमशील बन्न लक्ष्मिनाराण महिला कृषि सहकारीले सघाएको छ । सहकारीले समूह निर्माण गर्नेदेखि तालिम, बिउ र बजारसम्मका लागि सहजीकरण गरिरहेको अध्यक्ष यमुना घिमिरेले बताइन् । 

उनले भनिन्, ‘४० जनाको समूहले आलुखेती गर्दै आएका छौँ, पाँच हेक्टर क्षेत्रफलमा आलु लगाउँदा कृषि ज्ञानकेन्द्रले पनि सहयोग गरेको छ । यस वर्ष पनि एक सय क्विन्टल आलु लगाइएको छ । ६५ क्विन्टल बिउमा सहकारीले सहयोग गरेको छ ।’

हाल वडा नम्बर ८ का माझखर्क, रुक्से, बामी र सन्कोलमा आलुखेती भइरहेको छ । यी क्षेत्रलाई आलु पकेटको रूपमा विकास गरी खेती गरिरहेको सहकारीले जनाएको छ । 

सहकारीका पाँच सय २२ सदस्यमध्ये अमृतपुर आलु तथा अलैची उत्पादक कृषि समूहमा ४० जना सदस्य आबद्ध भाई आलु खेती गरिरहेका छन् । जेठमा उत्पादन हुने आलु बेमौसमी भएकाले निकै स्वादिलो हुने उपभोक्ताको भनाइ छ । 

 

आगोपार्नेको आलु निकै स्वादिलो र अन्य क्षेत्रको भन्दा सस्तो, स्वादीलो भएकाले आफूहरूले सोही आलु उपभोग गर्दै आएको बडिगाड गाउँपालिका–२ खर्वाङका यदुमणि खरेलले बताए । 

लक्ष्मीनारायण महिला कृषि सहकारीले आलु मात्रै होइन बेमौसमी मकै खेती पनि गर्दै आएको छ । मुसिकोट नगरपालिका–७ को न्वारमा २० रोपनी क्षेत्रफलमा बेमौसमी मकै खेती भइरहेको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोनको सहयोगमा गत वर्षदेखि मकैखेती गरिएको हो । मकैको बिउ, मल र प्रविधिमा मकै जोनसँगै सहकारीले पनि सहकार्य गरेको छ । अनुदानमा ५० प्रतिशत मकै जोन र २५ प्रतिशत सहकारीले सहयोग गरेको छ । रामपुर १० नामको मकै उत्पादन गरी बजारमा वितरणसमेत भएको छ ।

मकैखेती गरिरहेका न्वार सुदीका शेसकान्त अर्यालले आफूहरूका लागि पहिलो प्रयोग प्रयोग भएको बताउँदै भने, ‘हरियो मकै बेच्ने कुरा गज्जबको हुँदो रहेछ । अघिल्लो वर्ष राम्रै बेचियो । यो वर्ष पनि राम्रै आम्दानी भयो ।’ 

वडा नम्बर–७ को न्वारसुदी क्षेत्रमा सात जनाको कृषक समूहमा मकैखेती गरिएको छ । 

नयाँ प्रयोगसहित चैत्र, वैशाख र जेठमा हरियो मकै बजारमा पठाउन पाउँदा सहकारी पनि सफल भएको छ । अध्यक्ष घिमिरेले भने, ‘सुरुमा त फल्ने हो कि होइन भनेर डर लागिरहेको थियो । पछि राम्रो फल्यो, प्रयोग सफल भयो, खुसी छौँ, हरियो मकैबाट किसानले पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ ।’

मुसिकोट नगरपालिकाले पनि किसानलाई प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दै आएको छ । बिउ, प्रविधि र मलमा सहयोग गरिरहेको नगरपालिकाले अब बजारको ग्यारेन्टी गर्ने जनाएको छ ।