तेह्रथुम– संघीय संरचना बनेसँगै स्थानीय तहहरूले कृषि क्षेत्रमा पनि विशेष ध्यान दिन थालेका छन् । खेतबारी बाँझै छाडेर विदेशिनेहरूको लर्को घटाउन स्थानीय सरकारले कृषिमा अनुदान दिँदै आएका छन् । तेह्रथुमको म्याङलुङ नगरपालिकाले नगरभित्र कृषि तथा पशुपालनको पकेट क्षेत्र घोषणा गरेर युवालाई कृषि पेसामा लाग्न प्रेरित गरिरहेको छ ।
तेह्रथुममा ३ हजार २९ हेक्टरमा तरकारी उत्पादन हुँदै आएको छ । मौसमी तथा बेमौसमी तरकारी खेतीबाट जिल्लामा बर्सेनि करोडौँ रुपैयाँ भित्रिने गरेको छ । उत्पादनको ठूलो हिस्सा म्याङलुङ नगरपालिकाले ओगट्ने गरेको छ । कुनै समय स्थानीय तहमै खपत हुने तरकारी अहिले निर्यात गर्न सक्ने अवस्था बनेको छ । यो सफलता नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै भएको हो । जनप्रतिनिधिले कृषि र पशुपालनमा गरेको लगानी र खेतीमा आकर्षण गर्न गरिएको आर्थिक सहयोगले म्याङलुङबासी कृषि कर्ममा होमिएका छन् ।
म्याङलुङ नगरपालिकाले किसानलाई हाते ट्रयाक्टर, कोदो कुट्ने मेसिन, मकै छोडाउने मेसिन, उन्नत जातका बोका र बंगुर वितरण गरेको छ ।
नगरपालिकाले ५० प्रतिशत लागत साझेदारीमा हाते ट्रयाक्टर, कोदो कुट्ने मेसिन वितरण गर्दै आएको छ । मकै छोडाउने मेसिन वितरणबाट पनि कृषक लाभान्वित भएका छन् । पशुपालकलाई उन्नत जातका बोका र बंगुर वितरण गरिएको छ । यीबाहेक नगरपालिकाले कृषिमा आकर्षित हुने युवा र कृषकलाई तालिम दिँदै आएको नगरपालिकाको सामाजिक शाखाका शाखा प्रमुख जगदीश सुवेदीले बताए ।
अलैँची उत्पादनमा सिंगो जिल्ला चर्चित छ भने नगरपालिकामा पनि यसको खेती फस्टाएको छ । नगरपालिकाले उत्पादनका आधारमा वडालाई वर्गीकरण गरेर खेती गर्नेलाई सहयोग गर्दै आएको छ । यसका लागि वडा नम्बर ५, ६ र ७ मा अलैँची उत्पादनमा प्रोत्साहन, वडा नम्बर ९ मा अदुवा पकेट क्षेत्र घोषणा गरेको छ ।
आधुनिक अलैँची भट्टी निर्माणमा नगरले सहयोग गरेको छ । परम्परागत भट्टीमा छिटो र राम्ररी सुक्ने हुनाले किसानलाई काम गर्न सजिलो भएको छ । वडा नम्बर ९ लाई अदुवा पकेट क्षेत्र घोषणा गरिएको छ । नगरपालिकाले ८० प्रतिशत लगानी गरेर बिउ अनुदानमा दिने गरेको छ । जो सघन रूपमा कृषि पेसामा आबद्ध छन्, तिनलाई लागत साझेदारीमा कोदो कुट्ने, मकै छोडाउने मेसिन नगरले बाँड्दै आएको नगरपालिकाको सामाजिक शाखाका शाखा प्रमुख सुवेदीको भनाइ छ ।
कोरोना महामारीपछि धेरै युवा रोजगारी गुमाएर स्वदेश फर्किए । अहिले ती युवालाई कृषिमा होमिएर मनग्ये आम्दानी गराउने योजना नगरले बनाएको छ । वडा नम्बर ८ का युवालाई प्याजका बेर्ना वितरण गरिएको छ । ९ नम्बर वडामा लसुन खेतीका लागि प्राविधिक सहयोग र अनुदानमा बिउ उपलब्ध गराएर युवालाई माटोमा श्रम गर्न नगरपालिकाले प्रेरित गरिरहेको वडाध्यक्ष होमबहादुर खड्काले जानकारी दिए ।
४ करोड ३० लाख कुल लागतमा नगरपालिकाले ९ नम्बर वडामा शीतभण्डार निर्माण गरेको छ । प्रदेश १ सरकारले ३ करोड एवं कियाचु कृषि सहकारी संस्था र नगरपालिकाबाट ३० प्रतिशत साझेदारी रकम १ करोड ३० लाख रुपैयाँमा निर्माण गरिएको शीतभण्डारमा उत्पादित वस्तु राखिन थालेपछि कुहिने समस्या अन्त्य भएको छ । पशुमा अवस्था हेरी बाख्रा, बोका, सुंगुरका पाठा शतप्रतिशत अनुदानमा वितरण गर्ने क्रम जारी छ । समस्या लिएर आउने किसानलाई नगरमा उपलब्ध औषधी निःशुल्क दिने गरिएको छ । घरगोठमै गएर उपचार गरिदिने सुविधा पनि नगरपालिकाले प्रदान गरेको छ । प्रदेश र नगरपालिकाको सहकार्यमा खोप अभियान चलाइएको नगरपालिकाको पशु शाखाका शाखा प्रमुख डा. यशश्वीराज सुवेदीले बताए ।
पशु बन्ध्याकरण गर्ने, पशुको स्वास्थ्य अवस्थाबारे थाहा पाउने गरी प्रत्येक वडाका दुई जनालाई दिइएको तालिमले अहिले पशुपालकलाई निकै सहयोग पुगेको नगरपालिकाकी किसान निर्मला बस्नेत सुनाउँछिन् ।
नगरले वडा नम्बर २ लाई बाख्रा पकेट क्षेत्र, वडा नम्बर ६ लाई गाईभैँसीपालनमा प्रोत्साहन, वडा नम्बर १० लाई बंगुरपालन पकेट क्षेत्र घोषणा गरेको छ । यी वडामा कसरी काम भइरहेको छ भनेर पशु शाखाले नियमित अनुगमन गर्ने गरेको नगरपालिकाका पशु शाखा प्रमुख डा. सुवेदीले बताए ।
कृषि क्षेत्रमा लगानी बढाउन नगरपालिकाको योजनाले ठूलो सहयोग पुर्याएको छ । दिगो विकासका लक्ष्य प्राप्ति गर्न तय गरेको ७ लक्ष्यको दोस्रो बुँदालाई पूरा गर्न कृषि क्षेत्र अब्बल सावित भएको छ । यसले समृद्धिको यात्रा तय गर्ने सरकारी लक्ष्यमा ढुंगा थप्ने काम गरेको छ ।