तनहुँ– पशुपालनलाई व्यवसायीकरणतर्फ उन्मुख बनाउनका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले किसानलाई प्रेरित गर्ने कर्यक्रम अघि सारेको छ ।
तनहुँलाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाई गाईभैंसीको आयात प्रतिस्थापन गर्ने उद्देश्यसहित केन्द्रले पाडीबाच्छी हुर्काउने किसानलाई प्रेरित गर्ने कर्यक्रम अघि सारेको हो । ‘यो कार्यक्रमअन्तर्गत एक वर्षदेखि दुई वर्षसम्मको पाडीबाच्छी हुर्काए वापत किसानलाई रु १० हजारका दरले अनुदान दिइने छ’, केन्द्रका प्रमुख डा बालकु्मार श्रेष्ठले भने, ‘किसानलाई अनुदान दिएपछि पाडीबाच्छी हुर्काउन सहज भएको छ ।’ उनका अनुसार पाडीबाच्छी हुर्काउने किसानलाई अनुदान दिन चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट रु १० लाख बजेट विनियोजन भएको छ ।
‘अनुदान पाउनका लागि कृत्रिम गर्भाधानबाट जन्मिएका पाडीबाच्छी हुनुपर्छ’, उनले भने, ‘एक किसानलाई बढीमा पाँच वटा पाडीबाच्छीसम्म हुर्काउन रु ५० हजार प्रोत्साहन रकम प्रदान गरिएको छ ।’ चालु आर्थिक वर्षका लागि करिब १०० वटा पाडीबाच्छी हुर्काउनका लागि गण्डकी प्रदेश सरकारबाट रु १० लाख बजेट प्राप्त भएको उनको भनाइ छ । उनले भने, ‘पाडीबाच्छी हुर्काउनका लागि लामो समय पाल्नुपर्ने र खर्चिलो हुने भएकाले किसानलाई प्रोत्साहन गरिएको हो ।’
कोरोना भाइरस सङ्क्रमण बढ्दो जोखिमसँगै पछिल्लो समय युवा पुस्ता कृषि एवं पशुपालनतर्फ आकर्षित भएका छन् । कृषि तथा पशुपालनमा केन्द्रले कार्ययोजना बनाई अनुदान दिन थालेपछि धेरैजसो सर्वसाधारण कृषि तथा पशुपालनमा आकर्षित भएको ठम्याई केन्द्रको छ । बाँझो जमिनमा घाँस लगाई जग्गा भाडामा लिई कृषि तथा पशुपालन गर्ने जमात बाक्लिदैं गएको छ । यसले कृषि तथा पशुपालनमा क्षेत्रमा प्रतिस्पर्धासँगै व्यवसायिकतातर्फ उन्मुख रहेको विश्वास केन्द्रले गरेको छ । अनुदानले किसानलाई राहत र उत्साहित बनाएको छ ।
पाडीबाच्छी लोप हुँदै जाँदा दुग्ध उत्पादनमा समेत असर पर्ने भएकाले यसको संरक्षण एवं सम्वद्र्धन गर्न लागिएको प्रमुख श्रेष्ठको भनाइ छ । जिल्लाको बन्दीपुर, व्यास नगरपालिका र भानु नगरपालिकामा पाडीबाच्छी हुर्काइ स्रोत केन्द्र स्थापना गरिएको हो । गत आर्थिक वर्षमा जिल्लाका १८१ किसानले ३०८ वटा पाडीबाच्छी हुर्काउँदा लाभान्वित भएका थिए । उक्त कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा बाख्रा तीन लाख ८७ हजार, भैँसी ५६ हजार ४७२, गाई ५१ हजार र भेडा ७०० छन् । पछिल्लो समय गाईको सङ्ख्या घट्दै गएको जनाइएको छ ।
त्यसैगरी पछिल्लो समय बट्टाई, कालिज, टर्की, लोकल कुखुरा, लेयर्स कुखुरापालनतर्फ किसानको आर्कषण बढ्दै गएको सो कार्यालयले जनाएको छ । जिल्लामा पशुपालन किसानको वृद्धिसँगै दूध, मासु र अण्डामा आत्मनिर्भर बन्न सफल भएको प्रमुख डा श्रेष्ठले जानकारी दिए । माछामा समेत जिल्लालाई आत्मनिर्भर बनाउनका लागि प्रक्रिया अघि बढाइएको सो कार्यालयले जनाएको छ ।
यसैगरी कार्यालयले पशु सेवातर्फ कृतिम गर्भाधान, पशु बिमा, पशुबस्तुमा लाग्ने रोगको उपचार, औषधी वितरणजस्ता कार्यहरु सञ्चालन गर्दै आएको छ । व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्ने, घाँसको बिऊ वितरण गर्ने, नश्ल सुधार गर्नेजस्ता कार्यक्रमहरुलाई प्राथमिकतामा राखी स्रोत विनियोजन परिचालन गरिएको केन्द्रले जनाएको छ । पशुपालनलाई व्यवसायीकरण गर्ने प्रयोजनका लागि अनुदानका कार्यक्रमहरु सञ्चालन गरिएको प्रमुख डा. श्रेष्ठको भनाइ छ ।