close

५० प्रतिशत अनुदानमा किसानलाई बाँडियो कृषि उपकरण

५० प्रतिशत अनुदानमा किसानलाई बाँडियो कृषि उपकरण

Trulli
ADVERTISEMENT

उदयपुर– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ उदयपुरले ५० प्रतिशत अनुदानमा किसानलाई विभिन्न उपकरण वितरण गरेको छ । कृषिलाई व्यावसायिक तथा यन्त्रीकरण गर्ने उद्देश्यले उदयपुरका किसानलाई ६० लाख रुपैयाँ बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको हो ।

 

प्रधानमनत्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ उदयपुरले जिल्लाका किसानलाई ५० प्रतिशत अनुदानमा यन्त्रीकरण सामग्री वितरण गरेको हो । परियोजनाको आव ०७८÷७९ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार ५० प्रतिशत अनुदानमा परियोजनाको क्षेत्राधिकारभित्रका किसानलाई ६० लाख रुपैयाँ बराबरको कृषि उपकरण वितरण गरिएको परियोजना कार्यान्वयन इकाइ उदयपुरका सूचना अधिकारी उत्तम पोखरेलले बताए ।

 


पोखरेलका अनुसार ५५ वटा समूह र सहकारीले अनुदान प्राप्त गरेका छन् । वितरण गरिएका सामग्रीमा १ थान ट्रयाक्टर, १ थान पावर टिलर, २५ थान मिनिटिलर, २९ थान कम्बाई मिल, १ थान विडर, भन्याङ ३ थान, फुड स्प्रेर ६ थान, तौल मेसिन ५ थान, क्रेट २६५ थान, थ्रेसर २ थान, मकै गोड्ने मेसिन १ थान, चार्जिङ स्प्रेयर १ थान गरी विभिन्न कृषि सामान वितरण गरिएको हो ।

 

किसानलाई जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले सामान हस्तान्तरण गरे । चौदण्डीगढी नगरपालिका वडा नम्बर १ का जीवन बहुउद्देश्यीय कृषि फर्मले पाइप सिँचाइ कार्यक्रम, कम्बाइन मिल कार्यक्रम २ थान पाएको छ ।


यस्तै, चौदण्डीगढी वडा नम्बर ८ दूधकोसी बहुउद्देश्यीय कृषि फर्मलाई बिउ स्रोत केन्द्रका लागि २२ लाख रुपैयाँ बराबरको बजेट अनुदान दिइएको छ । ८ वटा चक्लाबन्दीमा सोही वडाका दूधकोसी बहुउद्देश्य कृषि फर्मले ६ लाख ३५ हजार रुपैयाँ कार्यक्रमसमेत परेको कृषि प्राविधिक प्रमिला राईले बताइन् ।

 

यस्तै, चाम्लिङ बहुउद्देश्य कृषि फर्मलाई साना सिँचाइ कार्यक्रम पनि परेको छ । जिल्लाभरिकै व्यावसायिक किसानलाई आवश्यक कृषि उपकरण वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना उदयपुरले जनाएको छ ।