close

पाख्रिबासको नमुना कफी कार्यक्रम सफलता नजिक 

पाख्रिबासको नमुना कफी कार्यक्रम सफलता नजिक 

Trulli
ADVERTISEMENT

धनकुटा–धनकुटाको पाख्रिवास नगरपालिकाले सञ्चालन गरेको नमुना कफी खेती कार्यक्रमबारे पत्रकार सम्मेलनमार्फत प्रगति विवरण सार्वजनिक गरेको छ । कफी खेतीका विषयमा विभिन्न टीकाटिप्पणी बाहिर आएपछि पालिकाले नमुना कफी खेती भइरहेको वडा नम्बर ८ स्थित मुगागाउँको आङ्ले डाँडामा लगेर कार्यक्रमबारे जानकारी दिएको हो ।

 

नगरपालिकाले कफी खेती तथा निर्माणाधीन कफी प्रशोधन केन्द्र तथा कफी खेतीको अवलोकन गराउँदै ०७६ देखि हालसम्म भएको १ करोड ३२ लाख बराबरको कार्यप्रगतिबारे बताएको हो । कार्यक्रममा कफी पकेट क्षेत्र सम्भाव्यता अध्ययन, बिउ तथा सामग्री खरिद, बिरुवा उत्पादन, छहारी व्यवस्थापन गरी ३२ लाखमध्ये २२ लाखँ रुपैया बराबरको काम भइसकेको जानकारी दिइयो ।

 

त्यस्तै, चालू आव ०७८/८९ मा प्रदेश सरकारबाट प्राप्त १ करोड विशेष अनुदानमध्ये ई–बिडिङमार्फत ५७ लाख रुपैयाँ बराबरको कफी प्रशोधन केन्द्र निर्माणको काम भइरहेको छ । बाँकी रकमको ई–बिडिङमार्फत प्रशोधन केन्द्र पहुँच मार्ग र हाइटेक नर्सरी निर्माणका लागि सम्झौता भई काम सुरु हुने चरणमा रहेको नगरप्रमुख वृषबहादुर राईले जानकारी दिए ।

 

उनले जग्गा उपलब्ध गराउन सार्वजनिक सूचना प्रकाशित गरे पनि कतैबाट जग्गा प्राप्ति नभएपछि आफूले नै ७ वर्षका लागि ६० रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको बताए । ‘आफ्नो पालामा केही गरौँ भन्ने योजनाअनुसार काम सुरु गरेकाले यसलाई सफल बनाउने जिम्मेवारी रहेकाले अन्तिम समय आफैंले जमिन दिएको हुँ’, उनले भने ।

 

सर्तअनुसार ७ वर्षपछि कुल आम्दानीको १५ प्रतिशत आफूले पाउने गरी जमिन उपलब्ध गराएको उनको भनाइ छ । कफी प्रशोधन केन्द्र र हाइटेक नर्सरी निमार्णका लागि करिब ४ रोपनी जमिन सरकारी मूल्यांकनमा नगरपालिकालाई उपलब्ध गराएको पत्रकार सम्मेलनमा उनले बताए ।

 

कार्यक्रममा नगर उपप्रमुख देवकला तिम्सिना पौडेल, नगरका कफी खेती प्राविधिक अमर राई, कृषि अभियन्ता तथा जीवनकुमार राईले कफी खेतीबारे जानकारी दिए । नगरसभा र विभिन्न बैठकबाट पारित गरेर नियमसम्मत काम भइरहेकाले बाहिर आएका हल्ला निराधार भएको उनीहरूको दाबी छ ।