बाजुरा–बाजुराको बूढीनन्दा नगरपालिका वडा नम्बर ६ दैयाका मुक्त हलियाले ढुंगा फुटाएरै जीविकोपार्जन गर्दै आएका छन् । सरकारले मुक्त हलिया घोषणा गरेको १३ वर्ष बिते पनि उचित ब्यवस्थापन नहुदा हलियाको जीवनस्तर झन् नाजुक बन्दै गएको छ ।
सरकारले २१ भदौ ०६५ मा मुक्त हलिया घोषणा गरे पनि उचित राहत र जग्गा जमिन नदिएपछि खोला–किनारमा ढुंगा फुटाएर पेट पाल्नुपरेको हलियाको गुनासो छ । स्थानीय सरकार आएको पाँच वर्ष पुग्न लाग्दा पनि हलिया समुदायले स्थानीय तहबाट पाउने सेवा–सुविधासमेत पाएका छैनन् ।
बूढीनन्दा नगरपालिका वडा नम्बर ६ दैयाकी खड्के विककी आमा शारीरिक विकलांग छन् । आमाबुबालगायत १४ जना परिवार पाल्न खड्के विकलाई निकै समस्या छ । उनले प्रधानमन्त्री रोजगार कार्यक्रममा समेत राजनीति हुने गरेको गुनासो गरिन् । ‘थोरै जमिन थियो । त्यही जमिनसमेत बड्डीगाड खोलाले बगाएर लगेपछि अहिले ढुंगा फुटाएरै १४ जनाको परिवार पाल्दै आएकी छु’, उनले भनिन् ।
स्थानीय तहबाट पाइने हरेक सेवा– सुविधाबाट वञ्चित हुँदै आएको उनको गुनासो छ । हलियाले पाउने राहतसमेत अहिलेसम्म पाउन नसकेको अर्का हलिया सगुने विकले बताए । परिवारको पेट पाल्न बड्डीगाड खोलामा दिनभरि ढुंगा फुटाउने र त्यही बेचेर परिवार पाल्दै आएको उनको भनाइ छ ।
गाउँमा रोजगारी नपाएपछि श्रीमान्लाई कोरोनाको जोखिममा समेत भारतमा काम गर्न पठाएको गौती विकले सुनाइन् । उनले भनिन्, ‘कोरोनाको यस्तो हालत छ, श्रीमान् भारतमा छन् । के–कसो छ, फोनसमेत गर्न पाएकी छैन । श्रीमान्ले अलिकति पैसा कमाएर ल्याएपछि उधारो ल्याएको दाल–चामलको पैसा तिर्नुहुन्थ्यो ।’
आफूले दिनमा गिटी कुटेर छोराछोरीको पेट पाल्ने गरेको उनले बताइन् । ‘पेट पाल्नकै लागि दुःख गरेर खोलामा ढुंगा फुटाउँछौँ तर गिटीसमेत बिक्री नभएर खोलामै थन्किएका छन्’, अर्की पीडित जनकला विकले भनिन् । उनीहरू मात्रै होइन, दैयाका हलिया परिवार दिनभरि कामका लागि विभिन्न ठाउँमा भौतारिरहेका हुन्छन् । तर, काम नपाएपछि बेलुका निराश हुँदै घर फर्कने गरेको नरे विकले बताए ।
सरकारले घरमा टिन हाल्न दिएको पैसासमेत खानामै सकिएपछि अहिलेसम्म घर छाउन नसकेको उनको गुनासो छ । कोही कसैबाट पनि सहयोग नमिलेको र पैसा कमाउन काम नपाएपछि घर छाउन नसकेको उनको भनाइ छ ।