काठमाडौं– नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा पाँचौं राष्ट्रिय कृषि यन्त्रीकरण प्रदर्शनी २०७८ चितवनमा हुने भएको छ । प्रदर्शनी आउँदो ५ देखि ८ माघसम्म चितवनमा हुने भएको हो । संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रदर्शनीबारे जानकारी गराएको हो । ‘कृषि यन्त्रीकरणमा वृद्धि, व्यावसायिक कृषि विकास र समृद्धि’ नारासहित प्रदर्शनी आयोजना गरिन लागेको हो ।
प्रदर्शनी चितवन एक्स्पो सेन्टर भरतपुरमा सञ्चालन गरिनेछ । प्रदर्शनीको आयोजकमा संघसहित कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यन्त्रीकरण प्रवद्र्धन केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रहनेछन् ।
प्रदर्शनीको मुख्य प्रायोजकमा सलोम एग्रिकल्चर प्रालि एवं प्रायोजकमा कृषि कम्पनी र मुक्तिनाथ विकास बैंक रहेका छन् । संघका अनुसार सह–प्रायोजकमा एनटीएस इन्डस्ट्रिज, जीसेभेन एग्रिकल्चर, एसकेटी नेपाल, नेपाल–चीन एग्रिकल्चर सेन्टरलगायतका संस्था रहेका छन् ।
सहयोगी संस्थामा कृषि उद्यम केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद्, चितवन उद्योग संघ, कृषि सहकारी केन्द्रीय संघ र आर एन्ड डी इनोभेटिभ सोलुसन रहेका छन् । प्रदर्शनीमा १५० बढी प्रदर्शनीकर्ताका २ हजार बढी कृषियन्त्र, औजार, उपकरण तथा प्रविधि रहनेछन् । २० बढी मुलुकको प्रदर्शनीमा सहभागिता रहनेछ ।
प्रदर्शनीमा मेड इन नेपाल प्याभिलियन, कृषि यन्त्रीकरण प्रवद्र्धनसम्बन्धी गोष्ठी तथा सेमिनार, कृषि कर्जाको छुट्टै मेला हुनेछ । करिब ७० जिल्लाका १ लाख बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको प्रदर्शनीमा २० करोड बढीको कारोबार हुने अपेक्षा राखिएको संघका अध्यक्ष खोजराज कटुवालले बताए ।
प्रदर्शनीले एकै थलोमा कृषिसम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्र तथा सेवाबारे जानकारी गराउने, नीति निर्माता, पेसागत समूह, अनुसन्धानकर्ता, कृषकलगायत सरोकारवालालाई कृषि यन्त्र तथा प्रविधिसम्बन्धी जानकारी गराउनेछ । संघले यसअघि पनि २०७० मा चितवनमै पहिलो राष्ट्रिय कृषि यन्त्रीकरण प्रदर्शनी आयोजना गरेको थियो ।