close

खाद्यान्न र बिउमा आत्मनिर्भर बन्दै स्याङ्जा

खाद्यान्न र बिउमा आत्मनिर्भर बन्दै स्याङ्जा

Trulli
ADVERTISEMENT

स्याङ्जा–स्याङ्जालाई बिउमा आत्मनिर्भर बनाउन जिल्लाभरका बिउ उत्पादक समूह र सहकारीबीच समन्वय भएको छ । वालिङमा रहेको कृषि विकास स्रोत केन्द्र र कृषि ज्ञान केन्द्रको समन्वयमा जिल्लामा बिउ उत्पादनका क्षेत्रमा काम गर्दै आएका किसानको भेलाले जिल्लालाई खाद्यान्न तथा तरकारी बालीको बीउ उत्पादनमा आत्मनिर्भर बनाउन समन्वय गर्ने निर्णय गरेको हो ।


जिल्लालाई खाद्यान्न तथा तरकारी बालीको बिउ उत्पादनमा संलग्न किसान समूह, सहकारी तथा संस्थासँग समन्वय गर्नका लागि जिल्ला बिउबिजन उत्पादन तथा व्यावसायिक समितिसमेत गठन गरिएको कृषि विकास स्रोत केन्द्र वालिङका प्रमुख सुदीप रेग्मीले जानकारी दिए ।


उनका अनुसार जिल्लामा बिउ उत्पादनमा सहयोग गर्ने सरकारी, गैरसरकारी, स्थानीय तह तथा निजी क्षेत्रसँग बिउबिजन क्षेत्र विस्तारका लागि समन्वय गर्ने, प्रत्येक वर्ष जिल्लामा आवश्यक पर्ने स्रोत बिउको परिमाण तथा उक्त स्रोत बिउको तथ्यांक संकलन गरी बिउको परिमाण कृषि ज्ञान केन्द्र र कृषि विकास स्रोतकेन्द्र वालिङलाई जानकारी गराउनुपर्नेछ ।

 

जिल्लालाई बिउमा आत्मनिर्भर बनाउन विभिन्न बिउ उत्पादनसँग सम्बन्धित कार्य सञ्चालन गर्ने, बिउ उत्पादनका क्षेत्रमा काम गर्दै आएका व्यावसायिक बिउ उत्पादक समूह, सहकारीलाई आवश्यक सल्लाह, सुझाव तथा परामर्श दिने मुख्य उद्देश्य रहेको उनले बताए । ‘जिल्लामा खाद्यान्न तथा तरकारी बाली बिउ उत्पादनका क्षेत्रमा काम गर्दै आएका बिउ उत्पादक र उपभोक्ताबीच समन्वय गराउन पहल गर्नेछौँ’, उनले भने, ‘जिल्लामा उत्पादित बिउलाई जिल्लाभित्रै खपत गर्ने गरी उत्पादक र उपभोक्ताबीच समन्वयकारी भूमिका वहन गर्छौं ।’


जिल्लामा धान, मकै, गहुँ, आलुलगायतका तरकारीबालीका क्षेत्रमा गुणस्तरयुक्त बिउ उत्पादन गर्न २१ समूह, सहकारी सूचीकृत छन् । जिल्लास्तरमा खाद्यान्न तथा तरकारी बालीका क्षेत्रमा बिउ उत्पादन गर्दै आएका किसानबीच अन्तक्र्रिया तथा समन्वयकारी भूमिकाले आगामी दिनमा उत्पादन भएका बिउको बजारीकरणमा सहयोग पुग्ने विश्वास फेदीखोला वडा नम्बर ४ आरुखर्कमा रहेको जैसीडाँडा किसान समूहकी अध्यक्ष संगीता हमालको छ । 

 

प्रयोगशालाबाट बिउका लागि प्रमाणीकरण भएको ‘मनकामना ३’ जातको मकैको बिउ ११ वर्षदेखि उत्पादन गर्दै आएको उक्त समूहका अध्यक्ष हमालले जानकारी दिइन् । महिलाले नेतृत्व गरेको र महिला मात्रै आबद्ध रहेको ‘जैसीडाँडा किसान समूह’ ले ११ वर्षदेखि मकैको बिउ उत्पादन गर्दै आएको छ । फेदीखोला गाउँपालिका वडा नम्बर ४ आरुखर्कमा रहेको उक्त समूहले ०६७ देखि वैधानिकरुपमा ‘मनकामना ३’ जातको मकैको बिउ उत्पादन गर्दै आएको छ ।

 

सुुरुमा ४५ जना महिला आबद्ध रहेर सञ्चालनमा आएको समूहमा हाल २०० जना महिला आबद्ध भई मकैको बिउ उत्पादन गर्दै आएको समूहकी अध्यक्ष हमालले बताइन् । ‘यो समूहमा आबद्ध भएका सबै महिला दिदीबहिनीले आ–आफ्नो बारीमा बिउका लागि मकै खेती गर्छन्’, अध्यक्ष हमालले भनिन्, ‘उत्पादित मकैको बिउको प्रयोगशालामा परीक्षण गरेपछि मात्रै बिक्रीका लागि अनुमति प्राप्त गर्नेछौँ ।’


गत वर्षदेखि मकै परीक्षणका लागि पोखरास्थित प्रयोगशालामा लगिए पनि त्यसभन्दा अघिल्ला वर्षमा भैरहवा लैजाने गरिएको अध्यक्ष हमालले बताइन् । ‘उत्पादित बिउ मकैको प्रयोगशालामा पठाएर उमारशक्ति, चिस्यान र शुद्धता परीक्षण गरिन्छ’, अध्यक्ष हमालले भनिन् ‘परीक्षणमा योग्य भएपछि घरघरमा रहेको मकैलाई संकलन केन्द्रमा ल्याएर समूहमार्फत एकमुष्ट बिउ प्रयोजनका लागि बिक्री गर्छौं ।’

 

यहाँको मकै सुरु चरणदेखि हालसम्म बिउको गुणस्तरीयता परीक्षणका क्रममा कमजोरी नदेखिएको दाबी समूहले गरेको छ । यहाँ उत्पादन भएको बिउ मकै स्याङ्जाभित्रका कृषिसँग सम्बन्धित कार्यालय, संघ– संस्था, कृषि एग्रोभेट र जिल्लाबाहिरबाट पनि माग हुने गरेकाले खपतको कुनै समस्या नभएको समूहका कोषाध्यक्ष कल्पना पौडेलले जानकारी दिइन् ।

 

यो वर्ष १२ मेट्रिक टन ‘मनकामना ३’ जातको मकैको बिउ उत्पादन भएको छ । गतवर्ष १० मेट्रिक टन बिउ बिक्री भएको उनले बताइन् । गल्याङ वडा नम्बर ११ जिमुहामा रहेको जिमुहा कृषिउपज सहकारी तथा जिमुहा शीतभण्डार सहकारीका अध्यक्ष रुमलाल कँडेलले बीउ उत्पादकबीच समन्वय र सहकार्यले थप ऊर्जा मिलेको बताए । खाद्यान्न तथा तरकारी बालीका विभिन्न जातका बीउ जिल्लामा नै उत्पादन हुने गरेकाले सीधै उपभोक्तामाझ पु¥याउन समन्वयात्मक भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।


‘जिल्लामा विभिन्न तरकारी तथा खाद्यान्नबालीका प्रमाणित बिउ समूह सहकारीले उत्पादन गरिरहेका छन्’, उनले भने, ‘जिल्लाका उपभोक्ताले बाहिरी जिल्लाबाट बिउ ल्याउने गरेकामा अब भने जिल्लामा उत्पादन भएको बिउ जिल्लाभित्रै खपत हुनेमा विश्वस्त छु ।’

 

जिल्लामा बीउ उत्पादनका क्षेत्रमा काम गर्ने समूह तथा सहकारीले उत्पादन गर्ने बिउको परिमाण र उपभोक्ताले आफूलाई आवश्यक पर्ने बिउ माग गर्न मिल्ने गरी सफ्टवेयरको विकास गरिएकाले उत्पादक र उपभोक्ताबीच सीधै सम्पर्क गर्न सहज हुने व्यवस्था मिलाइएको कृषि विकास स्रो तकेन्द्रका प्रमुख रेग्मीले जानकारी दिए ।