close

सात समुद्रपारिसम्मै पुग्छन् गुन्डुका फूल

सात समुद्रपारिसम्मै पुग्छन् गुन्डुका फूल

Trulli
ADVERTISEMENT

भक्तपुर–बारीभरि ढकमक्क फुलेका सयपत्री र मखमलीले यतिखेर भक्तपुरको गुन्डुका गाउँ सुन्दर बनेका छन् । जिल्लामा व्यावसायिक फूल खेती गर्ने बढेपछि गाउँका प्रत्येक टोलका आँगनदेखि बारीभरि लहरै मखमली र सयपत्री फूल लटरम्म फुलेपछि गाउँ नै सुन्दर भएका हुन् ।

 

भक्तपुरमा सबैभन्दा बढी फूल खेती हुने सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुन्डु यतिखेर ढकमक्क फुलेका सयपत्री र मखमली फूलले मनमोहक देखिएको छ । घरको आँगनदेखि खेतबारीका पाटाभरि फुलेका फूलले यहाँको सौन्दर्य मात्रै थपेको छैन, राम्रो आम्दानीको स्रोतसमेत बनेको छ । नेपालमा भारतीय फूलले बजार ओगटिरहेका बेला यहाँका फूल भने अमेरिकादेखि अूट्रेलियासम्म पुग्ने गरेका छन् । 

 

राष्ट्रिय कृषक समूह महासंघ नेपालकी केन्द्रीय सचिवालय सदस्य एवं २० वर्षदेखि फूल खेती गर्दै आएकी स्थानीय अनिता बस्नेत आफ्नो बारीमा फुलेका फूललाई अमेरिकादेखि अस्ट्रेलियासम्म पु¥याउने गरेको बताउँछिन् ।

 

तीन रोपनी जग्गामा फूल खेती गरेकी उनले एक सिजनमा ४ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको सुनाइन् । बस्नेत भन्छिन्, ‘मैले सयपत्री साढे दुई र मखमली फूल आधा रोपनीमा मात्रै लगाएकी छु । यो वर्ष ३ लाख सयपत्री र १ लाख रुपैयाँको मखमली फूल उत्पादन भएको छ ।’


एक रोपनीमा मखमलीका चार हजार माला उन्न सकिने जनाउँदै उनले एउटा मालाको यो वर्ष कम्तीमा २५ रुपैयाँमा बिक्री हुँदा पनि १ लाख माला उत्पादन हुने बताइन् ।


उनले विदेशमा रहेका नेपालीमार्फत फूल तथा माला निर्यात गर्दै आएकी छन् । उनले भनिन्, ‘यो वर्ष तिहारका लागि दसैँ अगाडि नै अमेरिकामा ५ हजार र अस्ट्रेलियामा १० हजार माला पठाइसकेकी छु । केही दिनमै अमेरिकामा थप ५ हजार माला पठाउँदै छु । यहाँबाट विभिन्न मुलुकमा फूल र माला निर्यात हुँदै आएको छ ।’

 

विदेशमा माला पठाउँदा आफूले मात्रै उत्पादन गरेकाले नपुग्ने भएपछि अरूसँग प्रतिमाला २५ मा खरिद गरी २७ रुपैयाँमा पठाउने गरेको उनको भनाइ छ । मखमली फूल र माला लिन गाउँमै व्यापारी आउने गरेका छन् । कतिपयले भने आफैं बजार पुर्‍याउने गर्छन् । सयपत्री फूल एक मुठाको १० देखि १२ रुपैयाँसम्ममा बिक्रीहुने गरेको छ भने तिहारमा चार पाथी अट्ने ढ्वाङमा हालेर एक ढ्वाङको ६०० रुपैयाँमा बिक्री हुने गर्छ ।

 

स्थानीय मीना नगरकोटीले एक रोपनी जग्गामा फूल खेती गरेको जनाउँदै १ लाख रुपैयाँको फूल बिक्री हुने बताइन् । उनले मखमली फूलको माला गाँस्ने चटारो परेकाले चार आना जग्गामा लगाएको मखमलीबाट १ हजार १ सय वटा माला उनेको जानकारी दिइन् ।  अहिले माला उन्ने र सयपत्री फूल व्यवस्थापनको चटारो चलेको छ ।


गुन्डुमा व्यावसायिक फूल खेती हुने भएपछि नगरपालिकाले समेत अनुदानमा फूलका बेर्ना वितरण गर्दै आएको छ । वडा नम्बर ७ गुन्डुका वडाध्यक्ष रवीन्द्र सापकोटाले यो वर्ष यहाँका किसानलाई सयपत्री फूलको ४५ हजार बेर्ना वितरण गरेको बताए । उनले भने, ‘फूल खेतीमा लागेका किसानलाई प्रोत्साहन दिन नगरले यो वर्ष ४ लाख रुपैयाँ लगानी गरेर ८० प्रतिशत नगरपालिकाको अनुदानमा फूलका बेर्ना वितरण गर्‍यौँ। स्थानीय जनप्रतिनिधि भएपछि आवश्यकतानुसार किसानलाई बेर्ना वितरण गर्‍यौँ ।’ गुन्डुमा स्थानीयसँगै विभिन्न जिल्लाबाट आएर घर भाडामा बस्नेले पनि जग्गा भाडामा लिएर फूल खेती गर्दै आएका छन् ।

 

वडाध्यक्ष सापकोटाले गुन्डुमा मात्रै करिब ४०० रोपनी क्षेत्रफलमा फूल खेती गरेको र यहाँबाट मात्रै वर्षमा करिब ३ करोड रुपैयाँको फूल बिक्री हुने गरेको बताए । उनले फूल खेतीको बजार व्यवस्थापनका लागि एकद्वार प्रणाली लागू गर्नेबारे किसानसँग छलफल भएकाले अस्वस्थ प्रतिस्पर्धा नगरी एकद्वार प्रणालीमा जान चाहे वडाले त्यसको व्यवस्थापन गर्ने जानकारी दिए ।

 

स्थानीय रुपा बस्नेतले फार्म नै बनाएर फूल खेती गर्दै आएकी छन् । मखमली फूल करिब एक रोपनी र सयपत्री फूल चार रोपनीमा लगाएकी उनलाई तिहार नजिकिएपछि मखमली फूलको माला उन्न र सयपत्री फूल बजार पु¥याउन भ्याई–नभ्याई भएको छ । 

 

गुन्डुका स्थायी वासिन्दा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतकै पहलमा आएको करोडौँको बजेटले यहाँको विकासले मुहार फेरेपछि अहिले व्यापारी घरघरमै पुग्न थालेको जिल्ला समन्वय समिति उपप्रमुख एवं स्थानीय सरिता कुँवरले जानकारी दिइन् ।

 

पहिला जीर्ण सडक र पिछडिएको गुन्डुमा फूल खेती गरे पनि बजार पुर्‍या उन कठिन हुने गरेकामा अहिले चार वर्षकै अन्तरालमा गुन्डु जाने चार वटा ठूला र पक्की सडक बनेपछि व्यापारीलाई गाउँसम्म आउन र व्यवसायीलाई बजारसम्म जान सहज भएको उनले बताइन् ।


भक्तपुरमा गुन्डु, सिपाडोल, चित्तपोल, ताथली, सुडाल, वागेश्वरीलगायत ठाउँमा अहिले व्यावसायिक फूल खेती हुन थालेको छ । सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्रमा हुने व्यावसायिक फूल खेतीबाट मात्रै एक सिजनमा करिब ५ करोड रुपैयाँको फूल बिक्री हुने गरेको नगरपालिकाले जानकारी दिएको छ ।

 

मकै बारीमै फूल खेती लगाउन सकिने भएपछि दोहोरो बालीका रूपमा किसानले फूल र मकै खेती गर्दै आएका छन् । धानमा भन्दा फूलबाट आम्दानी बढी हुने भएपछि कतिपयले धान खेतमा समेत फूल लगाउँदै आएका छन् ।सत्रपत्री फूलभन्दा मखमलीमा औषधी धेरै हाल्नुपर्ने र बढी स्याहार्नुपर्ने भएपछि पछिल्लो समय सयपत्री फूलतर्फ किसान आकर्षित भएका छन् ।