close

दाङका स्थानीय तहमा बटुलिँदै धानबालीको क्षति विवरण

दाङका स्थानीय तहमा बटुलिँदै धानबालीको क्षति विवरण

Trulli
ADVERTISEMENT

दाङ–दाङका स्थानीय तहले गत आइतबारदेखि परेको अविरल वर्षाका कारण धानबालीमा पुगेको क्षति विवरण संकलन थालेका छन् । दसैँअगाडि कतिपयले धान काटेर सकेका थिए भने कतिपयले एकादशीबाट काट्न सुरु गरेका थिए । चार दिनसम्म परेको पानीले धरैजसो किसानको धान खेतमै कुहिएको छ भने कतिपयको पानीले बगाएको छ ।


दाङको राप्ती र दंगीशरण गाउँपालिकामा वर्षाले धान खेतीमा धेरै क्षति गरेको छ । काटेर खेतमै सुकाएको धानलाई बगाउने, भिजाउने र नकाटेको धान ढलाएको छ । बेमौसमे वर्षातले किसानको वर्षैभरिको उब्जनी नष्ट गरेको छ । 


काटेर खेतमै राखेको धान टुसा उम्रन थालेको गढवा वडा नम्बर ४ का किसान भीमा चौधरीले बताइन् । उनले भनिन्, ‘दसैँ बिदामा परिवारका सदस्य घरमा जम्मा भएको मौका छोपेर धान काटेका थियौँ । लगातारको वर्षाका कारण पानीमा डुबेर सबै धान टुसा उमे्रर खान नमिल्ने भएको छ ।’ 


घोराही वडा नम्बर ६ का खुसल डाङीले दसैँको अघिल्लो दिन धान काटेर सकेका थिए । १५ कठ्ठा जग्गामा लगाएको धानबाली सबै डुबेको छ । ‘वर्षभरी खाने अन्न पानीमा डुबेको देख्दा आँखाबाट आँसु झर्छ’, उनले भने, ‘बेमौसमी पानी धेरै दिन आउँदैन जस्तो लागेको थियो तर सबै डुबायो ।’


तुलसीपुर उपमहानगर प्रमुख घनश्याम पाण्डेले धानबालीमा पुगेको क्षति किसानको खेतमा गएर अवलोकन गरे । बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले पनि पानीले क्षति गरेको धान खेतमा गएर किसानको गुनासो सुने । 


दाङका स्थानीय तहले किसानलाई ७ कात्तिकसम्म क्षतिको विवरण बुझाउन भनेका छन् । घोराही, तुलसीपुर उपमहानगर, लमही नगरपालिका बबई, शान्तिनगर, राप्ती, गढवा गाँउपालिकाले किसानलाई धानबालीको क्षतिको विवरण बुझाउन सूचना जारी गरेका छन् । धान रोपेको क्षेत्रफल, व्यक्तिको नाम थर, ठेगाना,सुरक्षति उत्पादन भएको क्षेत्रफल, काटिएको धान बगाएको क्षेत्रफल, धान डुबाएको क्षेत्रफल, धान ढालेर भएको क्षतिको क्षेत्रफलको विवरण किसानसँग माग गरेको स्थानीय तहले जानकारी दिएका छन् ।