उदयपुर- दुई दिनयताको निरन्तर वर्षाका कारण उदयपुरका किसानले भित्र्याउनै लागेको धानबाली खेतमै नष्ट भएको छ । बाली भित्र्याउने समय वर्षा भएपछि खेतमा काटेको धान भिजेर नष्ट भएको हो । प्रतिकूल मौसमका कारण पटक–पटक किसानले क्षति बेहोरिइसकेका छन् । धेरैजसो किसानले मौसम पूर्वानुमान महाशाखाको सूचनालाई बेवास्ता गर्नु र दसैँलगत्तै धमाधम धान काट्न थालेपछि वर्षाले क्षति पुगेको हो ।
वर्षाले धानबालीमा क्षति गरेपछि भोकमरी निम्तिने चिन्ता किसानमा छ । अविरलको वर्षाले उदयपुरमा भर्खरै काटेको र काट्ने तयार भएको धानबालीमा बढी क्षति पुर्याएको हो । निरन्तरको वर्षाले बेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिका क्षेत्रमा लगाइएको ३५ प्रतिशत धान खेती नष्ट भएको प्रारम्भिक तथ्यांकमा देखिएको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ ।
वर्षभरि मिहिनेत गरेर भित्र्याउन तयार भएको धान खेतमै डुबेपछि किसानले लाखौँ क्षति बेहोर्नुपरेको छ । पानीले भिजेको धान खान अयोग्य हुने र गुणस्तर पनि खस्किने कृषि ज्ञान केन्द्र उदयपुरमा निमित्त प्रमुख महेशकुमार चौधरीले बताए । ‘सबै किसान मौसमी सूचनाको पहुँचमा नहुँदा धानबालीमा क्षति पुगेको हो । धेरैजसो किसानले मौसमी सूचनालाई पालना गर्दैनन्’, चौधरीले भने ।
वर्षाले डुबान भएपछि बेलका नगरपालिकाको भागलपुर क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । चौदण्डीगढी नगरपालिकाको १०, ९, ५ र ४ नम्बर वडामा समेत क्षति पुर्याएको स्थानीयले बताए । त्रियुगा नगरपालिकाका विभिन्न वडामा पनि बाढी खेतमा पस्दा किसानको धानबालीमा क्षति पुगेको छ ।
दसैँलगत्तै किसानले धान काटेर पाँजा बनाई घर भित्र्याउन खेतमै तयारी अवस्थामा राखिएको धान बारी नै डुब्ने गरी बाढी छिरेर जलमग्न भएको बेलका नगरपालिकास्थित भागलपुरका स्थानीय सन्तु थापाले जानकारी दिए ।‘राती सुत्दा ठीकै थियो । अचानक पानी परेछ । बिहानभरि परेको वर्षा थपिँदा बारीमा काटेर राखेको धान कामै नलाग्ने अवस्थामा पुगेको छ’, उनले भने ।
वर्षाका कारण ठूलो संख्यामा उदयपुरका किसान प्रभावित भएका छन् । कात्तिकमा पानी पर्ला भन्ने विश्वास नलागेका बेला निरन्तरको झरीले सबै सखाप बनाएको किसानको गुनासो छ । ‘खेतमा पानीको कतै निकास नभएको हुँदा धान पूरै डुबेको छ,’ थापाले भने, ‘भर्खरै दसैँ मानेर खेतमा व्यस्त हुँदै गर्दा वर्षाले खत्तम बनाइदियो ।
धान बालीमा भएको क्षतिको पूर्ण विवरण आइनसकेको कृषि ज्ञान केन्द्र उदयपुरका निमित्त प्रमुख चौधरीले जानकारी दिए । उनले भने, ‘करिब ३५ प्रतिशत धान किसानले काटेको र नकाटेको केही धानलाई पनि हावाले ढालेर क्षति गरेको छ ।’ वर्षाले बेलका नगरपालिका वडा नम्बर १, २ र ३ का क्षेत्रमा करिब १ सय बिघा जग्गाको खेतमा काटेर सुकाएको धानबाली नष्ट भएको चौधरीले बताए । उनका अनुसार त्यस क्षेत्रका करिब ५० प्रतिशत हरियो धान पानीसँगै परेको हावाहुरीले जमिनमा भासिएको छ ।
चौदण्डीगढी नगरपालिका क्षेत्रमा करिब २० प्रतिशत काटेको धान नष्ट भएको छ भने २५ प्रतिशत बढी हरियो धान नष्ट भएको निमित्त प्रमुख चौधरीको भनाइ छ । कटारी नगरपालिकामा २० प्रतिशत काटेर सुकाएको धान पानीले खेतमै भिजेको छ भने १५ प्रतिशत बढी हरियो धानलाई पानीसँगैको हावाहुरीले ढलाएको छ ।
त्रियुगा नगरपालिकामा काटेर सुकाएको धानसहित अनुमानित ३५ प्रतिशत बढी धानबाली नष्ट भएको त्रियुगा नगरपालिका कृषि शाखा प्रमुख माधव राउतले बताए । उनका अनुसार त्रियुगा नगरपालिकाको सबैभन्दा बढी वडा नम्बर २ मा ४५ प्रतिशत धानमा क्षति भएको छ भने ६ वटा वडामा अनुमानित ४० प्रतिशतले क्षति पुगेको छ ।
त्रियुगा नगरपालिका वडा नम्बर १४, १५, १६ मा २५-२५ प्रतिशतले धानमा क्षति पुगेको छ भने अन्य वडामा ३० देखि ३५ प्रतिशत क्षति पुगेको शाखा प्रमुख राउतले जानकारी दिए ।