कास्की– संघ, प्रदेश तथा स्थानीय सरकारले व्यावसायिक कृषकका लागि अनुदान सहयोगलगायत कार्यक्रम ल्याएपछि कास्कीको माछापुच्छ्रे गाउँपालिका पशुपालनको हब बनेको छ ।
तीन वटै स्थानीय तहले उत्पादनमार्फत आयआर्जनमा कृषकलाई प्रेरित गरेपछि आम्दानीको गतिलो स्रोत फेला परेको हो । माछापुच्छ्रे गाउँपालिकामा व्यावसायिक पशुपालन फस्टाउँदै गएको छ । विगतमा निर्वाहमुखी कृषि कर्म गर्दै आएका कृषकले अहिले पशुपालनलाई नै आम्दानीको मुख्य स्रोत बनाएर गाईभैंसी तथा बाख्रापालन सुरु गरेका छन् ।
गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा पहिलो स्थानमा छ । व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेरै राम्रो आम्दानी गर्दै आएका छन् ।
गण्डकी प्रदेश सरकारले सहकारीबाट दूध बिक्रीका आधारमा कृषकलाई प्रतिलिटर २ रुपैयाँ ५० पैसा अनुदान दिँदै आएको छ । यसैगरी कृषि तथा पशु बिमा निःशुल्क गरिएको छ । संघले बिमामा ७५ प्रतिशत अनुदान दिएकामा प्रदेश सरकारले २५ प्रतिशत थप गरेर निःशुल्क गरिएको छ ।
गाउँपालिकाले पनि यसअघि प्रतिलिटर २५ पैसा अनुदान दिएकामा यस वर्षदेखि बढाएर ५० पैसा अनुदान दिन थालेको पालिकाका पशु शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए । प्रदेश सरकारबाट मोडल फार्म, डेरी सुधारलगायत कार्यक्रममार्फत दुई÷तीन वर्षदेखि निरन्तर सहयोग हुँदै आएपछि कृषकमा उत्साह बढेको छ ।
९ वडा रहेको गाउँपालिकाबाट दैनिक १० हजार ५०० लिटर दूध बिक्रीका लागि पोखरा बजारमा जाने गरेको छ । मध्यम र साना कृषकले सहकारी संस्थाबाट दूध बिक्री गरे पनि ठूला कृषकले आफैं बजार खोज्ने गरेका छन् ।
गत आर्थिक वर्षमा विभिन्न पाँच सहकारी संस्थाबाट १८ लाख ३६ हजार ६३ लिटर दूध बिक्री भएको छ भने निजी फार्मबाट २० लाख ८ हजार ५०० लिटर बजारमा बिक्री भएको छ ।
पशु शाखा प्रमुख पौडेलले भने, ‘हाम्रो गाउँपालिका दूधको हब बन्दै गएको छ । लाहाचोक र घाचोकमा पशुपालन व्यवसाय राम्रोसँग फस्टाएसँगै दूध बेचेर कृषकले राम्रो आयआर्जन गरेका छन् । अन्य वडामा समेत दैनिक उत्पादन बढिरहेको छ । सहकारीबाट दूध बिक्री गर्ने कृषक बढी छन् ।’ पालिकाको लाहाचोक, घाचोक र धितालबाट अन्य वडाबाट भन्दा बढी दूध उत्पादन हुने गर्दछ ।
लाहाचोकबाट मात्रै दैनिक ५ हजार लिटर दूध बिक्रीका लागि बजारमा आउने गरेको छ । वडा नम्बर ३ को घाचोकबाट दैनिक ३ हजार ५०० लिटर र धितालबाट दैनिक १ हजार लिटर दूध बजारमा बिक्री हुने गरेको छ । रिभान, माछापुच्छ्रे र सार्दीखोलाबाट दैनिक ३०० लिटरका दरले दूध बिक्री हुने गरेको तथ्यांक छ ।
त्यस्तै, धम्पुस र ल्वाङघलेलबाट गरी दैनिक ५०० लिटर दूध बिक्री हुने गरेको छ । दूध बिक्री गरेर पालिकामा कृषकले दैनिक ७ लाख ३५ हजार तथा मासिक २ करोड २० लाख रुपैयाँ हाराहारी आम्दानी गरेका छन् ।
सडक सुविधा, पशु आहाराका लागि घाँस तथा चरन क्षेत्र, नजिकको बजारलगायत कारणबाट पशुपालनका लागि सहज वातावरण बने पनि कृषकले उचित मूल्य पाउन नसकेको घाचोकका व्यावसायिक कृषक गोपाल पोखरेल बताउँछन् । उनले भने, ‘गाईभैंसी पाल्न हामीलाई सहज भएको छ तर उत्पादन लागत बढेको तथा दूधको मूल्य लामो समय बढ्न नसक्दा कृषक मर्कामा छन् । बर्सेनि मूल्य समायोजन हुने व्यवस्था भए सहज हुन्थ्यो ।’
लाहाचोकका युवा इमानबहादुर गुरुङले देशकै ठूलो भैंसीफार्म सुरु गरेपछि पालिकामा व्यावसायिक पशुपालन सुरु भएको थियो । गुरुङको फार्ममा अहिले ३०० भैंसी छन् । २०७३ मा उनी राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कारबाट समेत पुरस्कृत भएका थिए ।
व्यावसायिक कृषकलाई गाउँपालिकाले सहयोग गर्ने नीति लिएको छ । पालिकाले चालू आर्थिक वर्षमा कृषि र पशुतर्फ १ करोड ५ लाख ७३ हजार ३७३ बजेट विनियोजन गरेको उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिइन् । उनका अनुसार दूध उत्पादक कृषकलाई सहकारीमार्फत बिक्रीका आधारमा अनुदान, अनुदानमा पावरटिलर, चापाकटर, बोका र निःशुल्क घाँसका बिउ तथा सिड विन वितरण, वडा नम्बर २ र ९ मा स्थानीय भैंसी संरक्षण कार्यक्रम, एक वटा गाई/भैंसी पकेट क्षेत्रलगायत कार्यक्रम पालिकाको प्राथमिकतामा छन् । उनले भनिन्, ‘हाम्रो गाउँपालिका पशुपालनमा समृद्ध बन्दै जिल्लामै दूध उत्पादनमा अग्रणी छ । हाम्रो तर्फबाट समेत कृषकको मनोबल उच्च राख्दै कृषिलाई व्यावसायिकीकरण, आधुनिकीकरण र यान्त्रिकीकरणमा सहयोगको नीति लिएका छौँ ।’