रूपन्देही– रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान रकम उपलब्ध गराएको छ । नगरपालिकाले सहकारीमार्फत दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैयाँका दरले अनुदान उपलब्ध गराएको हो ।
उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरूप यो वर्ष किसानले ४६ लाख ६ हजार ५ सय ६९ रुपैयाँ प्राप्त गरेका छन् । किसानलाई प्रोत्साहन गर्न सहकारीमार्फत बिक्री गरिएको दूधको परिमाणअनुसार नगरपालिकाले हरेक वर्ष अनुदान रकम प्रदान गर्दै आएको नगर प्रमुख वासुदेव घिमिरेले बताए ।
सहकारीले उपलब्ध गराएको आर्थिक वर्ष २०७७÷७८ को लेखापरीक्षण प्रतिवेदनको आधारमा २१ वटा दुग्ध उत्पादक सहकारीमा आबद्ध किसानले अनुदान प्राप्त गरेका छन् । शुक्रबार १६ वटा सहकारीले अनुदान रकम बुझेका छन् भने बाँकी ५ वटा सहकारीले आवश्यक कागजात पु¥याएपछि रकम प्राप्त गर्ने नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख घिमिरेले नगरपालिकाले उपलब्ध गराएको अनुदान रकम केही दिनभित्रै किसानको हातमा पु¥याउन सहकारीका अध्यक्ष तथा व्यवस्थापकलाई निर्देशन दिए । नगरपालिकाले अघिल्लो दुई आर्थिक वर्षमा पनि सोही नीतिअनुरूप किसानलाई अनुदान उपलब्ध गराएको थियो । उत्पादनको आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने भएकाले नगरपालिकाले रकम दिने नीतिलिएको बताउँदै नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले नगरपालिकाले किसानमुखी अन्य कार्यक्रमसमेत सञ्चालन गरेको जानकारी दिइन् ।
यो वर्ष सबैभन्दा बढी अनुदान रकम वडा नम्बर १४ स्थित गौतमबुद्ध दूध डेरी दुग्ध चिस्यान केन्द्रले प्राप्त गरेको छ । केन्द्रले ९ लाख ९४ हजार ६४५ प्राप्त गरेको छ भने वडा नम्बर १४ कै टिकुलीगढ दुग्ध उत्पादक सहकारीले ५ लाख ६६ हजार १०१, वडा नम्बर १२ को गोकुल दुग्ध उत्पादक सहकारीले ४ लाख ५ हजार ९४४, वडा नम्बर ६ को पञ्चामृत दुग्ध उत्पादक सहकारीले ३ लाख ९ हजार ५७५ रुपैयाँ प्राप्त गरेको छ ।
गत वर्ष नगरपालिकाले किसानलाई ४५ लाख ९८ हजार ८ सय २१ रुपैयाँ अनुदानस्वरूप प्रदान गरेको थियो । दूधमा आत्मनिर्भर तिलोत्तमामा वार्षिक १ करोड लिटर दूध उत्पादन हुने गरेकामा त्यसको झन्डै आधा दूध सहकारीमार्फत बिक्री वितरण हुने गरेको छ ।
अनुदान वितरण कार्यक्रममा दुग्ध उत्पादक सहकारी संघका जिल्ला अध्यक्ष लेखनाथ पाण्डेयले जिल्लाका अन्य पालिकाले नगरेको काम तिलोत्तमाले गरेको बताए । सोझै किसानको हातमा रकम जाने यो अनुदान कार्यक्रम सबैका लागि अनुकरणीय रहेको उनको भनाइ छ । यस्तै, शंकरनगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रेमबहादुर भण्डारीले किसानको गोठमा पुग्ने अनुदानले साना किसानलाई प्रोत्साहन मिलेको बताए ।