रूपन्देही–बुटवल जैविक तरकारी उत्पादन कृषक समूहद्वारा प्रवद्र्धित जैविक कृषि उपज संकलन केन्द्र स्थापना भएको छ । बुटवल उपमहानगर वडा नम्बर १५ मा रहेको उक्त केन्द्रको उप–महानगर प्रमुख शिवराज सुवेदीले उद्घाटन गरे । उत्पादक पनि कृषक र सञ्चालक पनि कृषक नै रहने गरी यो केन्द्र स्थापना गरिएको हो ।
प्रदेश, स्थानीय सरकार, कृषकको लागत सहभागिता हुने गरी कार्यक्रम अगाडि बढाइएको हो । हालसम्म करिब १७ लाख रुपैयाँ लगानी भएको छ । यहाँ सफ्टवेयरबाट कार्यक्रम सञ्चालन हुनेछ । कृषि उपज केन्द्रमा सामान लगेर दिएपछि कृषकको मोबाइलमा म्यासेज जाने र रकम बैंक खातामा जम्मा हुनेछ ।यसको सदस्यता लिन बुटवल क्षेत्रभित्रका न्यूनतम ३ सय केजी तरकारी वर्षमा दिन पर्ने व्यक्तिगतको हकमा र समूहको हकमा भने १० हजार किलो दिने मात्रै सेयर लिन सक्ने प्रावधान छ ।
स्थानीय स्तरमा उत्पादित तरकारि मसला र फलफूल बाली स्थानीय स्तरमा संकलन गरी उचित वजार व्यवस्थापन गरेर साना कृषकलाई प्रत्यक्ष राहत दिने गरी यो केन्द्र अगाडि बढाइने केन्द्रका अध्यक्ष रामनाथ मालीले बताए । उत्पादनमा आधारित अनुदान, ढुवानी अनुदानजस्ता प्रोत्साहन कार्यक्रमले कृषकलाई प्रोत्साहन मिलेको अध्यक्ष मालीको भनाइ छ । बालीपात्रोअनुसार तरकारी लगाउने, बाली उत्पादनको अग्रिम सम्झौता गर्ने, माटो उपचार, बिउ, रोग किरा व्यवस्थापन, बिरुवा उत्पादनजस्ता कार्यसमेत केन्द्रले गर्नेछ । हरेक दिन बिहान ७–९ र बेलुका ३–५ बजेसम्म तरकारी संकलन गरिने अध्यक्ष मालीले जानकारी दिए ।
जग्गा भाडामा लिएर खेती गर्नेलाई अनुदान
बुटवल उपमहानगरले कृषि कर्ममा युवालाई आकर्षित गर्ने गरी जग्गा भाडामा लिएर खेती गर्न चाहनेलाई अनुदान कार्यक्रम सञ्चालन गरेको छ । बुटवलले सञ्चालन गरेको कृषिमा प्रोत्साहन र प्रवद्र्धनको यो कार्यक्रमले युवालाई कृषिमा आकर्षित गरेको छ ।
अहिले महामारीले कृषि कर्ममा धेरैको आकर्षण बढाइरहेका बेला बुटवलले अघिल्ला आर्थिक वर्षदेखि नै सहरी कृषि प्रवद्र्धनका नमुना कार्यक्रम सञ्चालन गरिरहेको छ । उपमहानगरले आव २०७५÷७६ देखि नै बुटवलका बाँझो जग्गा तथा खेती नगरिएका जग्गा सदुपयोग गरी कृषि उपजको उत्पादकत्व वृद्धि गर्ने नौलो कार्यक्रम सञ्चालन गरेको थियो । पहिलो चरणमा प्रतिकठ्ठा १ हजार रुपैयाँका दरले भाडामा अनुदान दिने नीति बनाइएको छ ।
बजार क्षेत्रमा कौसी तरकारी खेती
बजार क्षेत्रका घरमा कौसीमै तरकारी तथा साना फलफूल खेती गर्न मिल्ने गरी बुटवलले तालिम र प्रशिक्षणसमेत दिएको छ । तालिम र प्रशिक्षण लिएकाले घरका छत र कौसीमा नमुना खेती गरिरहेका छन् ।
बजार क्षेत्रका सबै वडामा खाद्य, पोषण तथा कौसी खेती कार्यक्रम सञ्चालित छ । यसका लागि २५ जना स्रोत व्यक्ति तयार पारेर कौसी खेतीमा सहजीकरण गरिएको छ । जग्गा नहुनेलाई तरकारी तथा फलफूलमा आत्मनिर्भर बनाउन कौसी खेतीको अवधारणा अगाडि सारिएको बुटवलका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताए । कृषि बाली उत्पादन, प्रशोधन तथा बजारीकरणका काममा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दा उत्पादकत्व बढाउन मद्दत मिलेको उनको दाबी छ ।
फसल धितो राखेर सहुलियत ऋण
बुटवलले सुरु गरेको कृषकको फसल धितो राखेर ऋण दिने कार्यक्रम नौलो हो । कृषकलाई गुणस्तरीय बिउसमेत प्रदान गरिँदै आएको छ । कृषकले उत्पादन गरेको धान तथा गहुँको मूल्यांकन गर्दै उनीहरूलाई पायक पर्ने सहकारीमार्फत फसल धितो राखेर ऋण उपलब्ध गराइँदै आएको छ ।
उत्पादित खाद्यबाली, धान र गहुँको बिउलाई सहकारीले गोदाममा भण्डारण गर्दै कृषकलाई आवश्यक ऋण उपलव्ध गराइएको छ । बुटवल वडा नम्बर १७ मा रहेको सिम्रिक र वडा नम्बर १६ को आदर्श कृषि सहकारीसँग उपमहानगरले सहकार्य गरेको छ ।
सहकारीमार्फत धान, धानको बिउ, १ सय मेट्रिक टन गहुँ र गहुँको गुणस्तरीय बिउ भण्डार गरिएको थियो । अब नयाँ धान उत्पादन भएपछि त्यहीँ भण्डारण गरिनेछ । कृषकलाई फसलका आधारमा आवश्यक सहुलियत दरको ऋण प्रवाह गरिँदै आएको यो कार्यक्रम मुलुकमै पहिलो हो ।
अब आत्मनिर्भरको नीति
बुटवलले आगामी आर्थिक २०७८÷७९ मा ‘के पाइन्छ होइन, के चाहिन्छ’ को नीति अवलम्बन गर्दैै कृषि क्षेत्रमा आत्मनिर्भर गराउने खाले कार्यक्रम बनाएको छ । कृषि वस्तुको संकलन, प्रशोधन, सञ्चय र ढुवानी आदि कार्यका लागि प्रदेश तथा केन्द्र सरकारको सहकार्यमा प्रदेश स्तरीय कृषि थोक बजार नगरभित्र स्थापना गर्न आवश्यक सहयोग तथा सहजीकरण गर्ने उपमहानगरको योजना छ ।
उर्बर कृषि भूमि तथा सावर्जनिक जग्गालाई गैरकृषिको रूपमा प्रयोगमा ल्याउन निरुत्साहित गर्दै फलफूल तथा सुहाउँदो बाली क्षेत्र विस्तार गर्दै कृृषिका कुनै न कुनै उपजमा आत्मनिर्भर बन्ने उपमहानगरको योजना छ । पशु नश्ल सुधार कार्यक्रम, पशुपक्षी विकास तथा पशु स्वास्थ्य कार्यक्रम तथा पशुपक्षी कृषक पहिचान कार्यक्रम जारी रहेको उपप्रमुख गुमादेवी आचार्यको भनाइ छ ।