close

पक्की नहर बनेपछि ५० रोपनी जमिन हराभरा

पक्की नहर बनेपछि ५० रोपनी जमिन हराभरा

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ७ बैदारबाडामा पक्की नहर निर्माण भएपछि ५० रोपनी जमिन सिञ्चित भएको छ ।अहिले यहाँका कृषकले सहजै सिँचाइ गरेर खेतीपाती गर्न थालेका छन् ।

 

कच्ची कुलो (नहर) हुँदा पटक–पटक पहिरोले पुरिने र भत्किने भएकाले खेती गर्ने सिजनमा कृषकलाई नियमित सिँचाइ नहुने समस्या थियो । कनकासुन्दरी गाउँपालिका वडा नम्बर ७ स्थित सुधारशील कृषक समूहले १ सय २० मिटर पक्की सिँचाइ कुलो निर्माण गरेको छ । यो सिँचाइले बैदारवाडाको ५० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ । गाउँको सिरानमा कुलो भएकाले बर्खाको समय पहिरोको उच्च जोखिम थियो ।


कुलोमा जाने पानीले जमिन भासिने सम्भावना उस्तै थियो । पक्की कुलो बनेपछि गाउँ सुरक्षित भएको छ । पहिरोको जोखिम टरेको छ । अतिजोखिम समुदायका सदस्यले सुरक्षाको आभास गरेका छन् । खेतबारीमा रहेको निर्भरता कम भएर आत्मनिर्भर बन्ने बाटोमा अग्रसर बनेका छन् ।


सिँचाइ सुविधाले गाउँमा रहेको परनिर्भरता कम हुने, पहिरो जान घट्ने र आफ्नै जमिनमा तरकारी तथा अन्नबाली उत्पादन गरी समुदायमा रोजगारी सिर्जना गरेर आम्दानी बढाउन प्रोत्साहित गरिरहेको पेस नेपालका परियोजना प्रमुख हेमराज भट्टले बताए ।


समुदायमा बाढीपहिरोको जोखिम कम हुने र उत्पादनमा वृद्धि भई आफ्नै व्यवसायमा व्यस्त हुने अवस्था निर्माण गरेको छ । कारितास जर्मनी एवं कारितास नेपालको आर्थिक सहयोग र पेस नेपाल जुम्लाको साझेदारीमा सञ्चालित एकीकृत खाद्य सुरक्षा विपद जोखिम न्यूनीकरण जलवायु परिवर्तन अनुकूलन कार्यक्रमअन्तर्गत यो सिँचाइ कुलो निर्माण भएको हो ।


पेस नेपाल जुम्लाले २ लाख ५० हजार र कनकासुन्दरी गाउपालिका ७ ले ४० हजार रुपैयाँको सह–लगानीमा पक्की नहर निर्माण गरिएको हो । कुल २ लाख ९० हजार रुपैयाँ लागतमा १२० मिटर पक्की नहर निर्माण भएको हो ।