close

हुम्लाका गाउँबाट सीमकोट पुग्न थाल्यो अर्गानिक तरकारी

हुम्लाका गाउँबाट सीमकोट पुग्न थाल्यो अर्गानिक तरकारी

Trulli
ADVERTISEMENT

हुम्ला- बर्खा सिजन सुरु भएसँगै हुम्ला सदरमुकाम सीमकोटमा विभिन्न गाउँबाट दैनिक दिन ताजा तरकारी भित्रन थालेको छ । गाउँघरमा तरकारी उत्पादन गरेर बिक्रीका लागि जिलला सदरमुकाम सीमकोटमा ल्याइन थालेको हो ।


सीमकोट आसपासका ठेहे, लाङ्दु, याङचु, मजा, छिप्रा नल्लालगायत गाउँबाट दैनिक ताजा तरकारी सदरमुकाम आउन गरेको छ भने खपत राम्रो हुने गरेको कृषक बताउँछन् । गाउँमा उत्पादित फर्सी, काउली, बन्दा, खुर्सानी, आलु, टमाटरलगायत तरकारीले सीमकोटमा बजार पाएको हो ।


यो समय तरकारी उत्पादनको सिजन भएकाले मूल्य भने कम पाइने गरेको सीमकोट गाउँपालिका वडा नम्बर २ ठेहे गाउँका बलवान बोहराले जानकारी दिए ।  गाउँमा उत्पादित तरकारी सीमकोटमा प्रतिकेजी १ सय रुपैयाँ बढीमा बिक्री हुने गरेको कृषक बोहराले बताए ।


तरकारी बिक्रीबाट आम्दानी भएको रुपैयाँले घर खर्च चलाउन सजिलो भएको उनको भनाइ छ । ‘तरकारी बिक्री गरेको आएको रकमले नुन, तेल, साबुनलगायत बालबालिकालाई स्टेसनरीका सामग्री किन्न सहयोग पुगेको छ’, उनले भने । 

 

खार्पुनाथमा टमाटर उत्पादन छ्यालब्याल

खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ का २ वटा गाउँमा उत्पादित टमाटर छिमेकी गाउँपालिकामा समेत खपत हुँदै आएको छ । घरघरमै टनेल बनाएर खेती सुरु भएपछि टमाटरमा आत्मनिर्भर हुनुका साथै आम्दानीसमेत बढाउन किसान सफल भएका हुन् ।


बिहानै सदरमुकाम सीमकोटमा टमाटर बिक्री गर्न आएका छिप्रा गाउँका प्रगति रावलले गाउँभरि उत्पादित टमाटरले सीमकोटमा राम्रो बजार पाएको बताउँछन् ।  छिप्रा गाउँमा उत्पादन भएको टमाटरले खार्पुनाथ गाउँपालिकाको बजार क्षेत्र मात्र नभई सीमकोटलाई समेत धानेको उनको भनाइ छ ।

 

टमाटर पाकेर लटरम्म भएपछि एक किसानले दैनिक २५ किलोसम्म टमाटर बोकेर सीमकोट पुर्‍याउने गरेका छन् । टमाटर प्रतिकेजी २ सय रुपैयाँमा बिक्री हुने गरेको छ ।  गाउँबाट बोकाएर ल्याएको टमाटर सीमकोटमा बिक्री गर्दा प्रतिदिन ६ देखि ८ हजार रुपैयाँसम्म कमाइ हुने गरेको अर्का किसान संयोग शाहीले बताए । 


प्लास्टिकको टनेल र खुला क्षेत्रमा उत्पादन भएको टमाटर गाउँपालिकाको बजार क्षेत्रमा समेत बिक्री हुने गरेको छ । खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ को नल्ला र छिप्रा गाउँका ३० घरधुरीले टमाटर खेतीबाट दैनिक कमाइ गर्दै आएका हुन् । गाउँमै उत्पादित टमाटर सदरमुकाममा खपत हुन थालेपछि नेपालगञ्ज र सुर्खेतदेखि हवाई मार्गमा ल्याउनुपर्ने बाध्यता हटेको छ ।